कटहरिया नगरपालिकाको तालाबन्दी खोलियो, पुनः तालाबन्दीको चेतावनीसहित दुई बुँदे सहमति

लोकसारथि, ११ माघ । रौतहटको कटहरिया नगरपालिकामा एक महिनादेखि जारी तालाबन्दी बिहीबार दुई बुँदे सहमतिसहित खोलिएको छ। मेयर अजय प्रकाश जैसवाल र प्रमुख प्रशासकीय अधिकृतमाथि करोडौँ भ्रष्टाचारको षड्यन्त्र गरेको आरोप लगाउँदै नगरपालिकामा तालाबन्दी गरिएको थियो। सहमति अनुसार, यदि सम्झौताका बुँदाहरू कार्यान्वयन नभए पुनः तालाबन्दी गरिने चेतावनी पनि दिइएको छ।

बिहीबार साँझ मेयर अजयप्रकाश जैसवाल र उपमेयर रितादेवी यादवसहित वडा अध्यक्षहरूको सहमतिमा तालाबन्दी खोलिएको हो। सहमतिको मध्यस्थतामा रौतहटका सिडियो हिरालाल रेग्मीले स्थानीय प्रशासनको सहजीकरण भूमिका निर्वाह गरेका थिए। लामो छलफलपछि दुवै पक्ष सहमतिमा पुगेका हुन्।

यसअघि, मेयर जैसवालका समर्थकहरूले ताला खोल्न खोज्दा र असन्तुष्ट पक्षका समर्थकहरूले रोक्न खोज्दा स्थिति तनावग्रस्त बनेको थियो। प्रहरी र सशस्त्र प्रहरीले अवस्था नियन्त्रणमा लिएपछि छलफल सुरु गरिएको थियो। सहमति अनुसार, प्रमुख प्रशासकीय अधिकृत रामजी जोशीद्वारा २०८१ मंसिर २० मा नगर कार्यपालिकाको बैठकको निर्णयमा गरिएको हस्ताक्षरहरू तत्काल कार्यान्वयन नगर्ने र आगामी बैठकमा अनुमोदन हुने निर्णयहरू मात्रै लागु गरिने छ।

सहमतिको मुख्य बुँदाहरू:

  1. जनप्रतिनिधिहरूले उठाएका मागहरू, जस्तै कर्मचारीको तलब भुक्तानी, विद्युत महसुल चुक्ता, आन्तरिक राजस्व विवरण सार्वजनिक, इन्धन खपतको विवरण स्पष्ट गर्नु, आय-व्यय विवरण सार्वजनिक गर्नु, र कार्यपालिका बैठक सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण गर्नुपर्ने।
  2. यदि यी मागहरू कार्यान्वयन नगरे पुनः तालाबन्दी गरिने।

सहमति छलफलमा मेयर जैसवाल, उपमेयर यादव, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, प्रहरी र सशस्त्र बलका प्रतिनिधिहरू, र वरिष्ठ पत्रकार सञ्जय मिश्राले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए।

गत मंसिर २० मा विवादास्पद निर्णयहरूको कारण बैठक स्थगित भएको थियो। उपमेयर यादवसहितका असन्तुष्ट पक्षले प्रमुख प्रशासकीय अधिकृत रामजी जोशीद्वारा गरिएका निर्णयहरू बदर गर्नुपर्ने माग गर्दै पुस ९ मा तालाबन्दी गरेका थिए।

उनीहरूले मेयर जैसवालले करार कर्मचारीको तलब, ईन्धन खर्च, डीपीआर, आर्थिक सहयोग लगायत शीर्षकमा करोडौँ रुपैयाँ अनियमितता गरेको आरोप लगाएका छन्। नगरवासीहरूले भ्रष्टाचारको मुद्दामा निलम्बित भइसकेका मेयर जैसवालको सुधार हुने अपेक्षा गरेका थिए, तर स्थिति झन् बिग्रिएको भन्दै उनीहरूको आलोचना जारी छ।

प्रतिक्रिया दिनुहोस्

छुट्यो कि ?

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.