लोकसारथि संवाददाता, काठमाडौं ।
धान बिक्रीको मुख्य सिजन चलिरहेका बेला बर्दियाका किसान पुनः मूल्य संकटमा परेका छन्। सरकारले तोकेको समर्थन मूल्यभन्दा प्रतिक्विन्टल करिब एक हजार रुपैयाँ कममा किसानहरूले धान बेच्न बाध्य भएका छन्।
सरकारले यस वर्ष मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल रु. ३,४५३ र मध्यम धानको रु. ३,६२८ तोकेको छ। तर बर्दियामा किसानहरूले मोटा धान रु. २,४०० देखि रु. २,७०० मा मात्र बेच्नुपरेको गुनासो गरेका छन्।
ढिलासुस्तीले व्यापारीको मौकाचाहना
धान खरिदका लागि जिम्मेवार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खरिद प्रक्रिया सुरु गर्न ढिलाइ गरेपछि स्थानीय व्यापारीले त्यसैको मौका लिई सस्तो मूल्यमा धान खरिद गरिरहेका छन्।
गुलरिया नगरपालिका–२ का किसान लोकप्रसाद भुसालले भने, “सरकारले समर्थन मूल्य तोकेको सुनेका हौं, तर व्यापारीले आफूखुसी मूल्य तोकेका छन्।”
त्यस्तै राजापुर नगरपालिका–७ का किसान पहारी थारूका अनुसार, “कम्पनीले खरिद ढिलो गर्दा किसान मर्कामा परेका छन्।”
कृषकहरूका अनुसार भण्डारणका लागि गोदाम नहुनु, चाडपर्वका खर्च जुटाउनुपर्ने अवस्था र तत्काल नगदको आवश्यकता भएकाले उनीहरू सस्तो मूल्यमा धान बेच्न बाध्य भएका हुन्।
तिहारपछि मात्र सरकारी खरिद
राजापुरका खाद्य व्यवस्था तथा व्यापार कम्पनीका निमित्त प्रमुख चेतमान कठायतले भने तिहारपछि राजापुर क्षेत्रका तीन स्थानबाट धान खरिद सुरु हुने जानकारी दिए। उनका अनुसार यस वर्ष बर्दिया जिल्लाबाट एक लाख क्विन्टल धान खरिद गर्ने लक्ष्य छ।
कठायतले किसानलाई आत्तिएर सस्तोमा धान नबेच्न आग्रह गर्दै भने, “सरकारले समर्थन मूल्यमै खरिद गर्ने तयारीमा छ, केही दिन कुर्नुहोस्।”
सहकारीको पहल
स्थानीय स्तरमा केही कृषि सहकारी संस्थाहरूले भने सरकारले तोकेको समर्थन मूल्यमा धान खरिद सुरु गरिसकेका छन्।
मधुवन नगरपालिकाको ताराताल सानाकिसान कृषि सहकारी संस्थाले केही दिनअघि नै धान खरिद थालेको छ भने, ठाकुरबाबा नगरपालिकाको सिंहवाहिनी शिवशक्ति कृषक बहुद्देश्यीय सहकारी संस्थाले पनि समर्थन मूल्यमै खरिद जारी राखेको जनाएको छ।
अन्य सहकारीहरूले छठ पर्वलगत्तै धान खरिद सुरु गर्ने तयारी गरिरहेका छन्।
बर्दियाका किसानहरूको भनाइमा, यदि सरकारले तत्काल प्रभावकारी खरिद अभियान सञ्चालन नगरे, हरेक वर्षजस्तै यस वर्ष पनि व्यापारीको मनोमानीमै उनीहरूका श्रमको मूल्य निर्धारण हुनेछ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
