logo

बुधबार, २४ भाद्र २०८३

बुधबार, भाद्र २४ २०८३

लमजुङमा ४०० मेट्रिक टन सुन्तला उत्पादन

लमजुङमा ४०० मेट्रिक टन सुन्तला उत्पादन


  • मंगलबार, पुष २३ २०८१
  • 1.7K
    SHARES

    लमजुङ : चालु आर्थिक वर्षमा जिल्लामा ४०० मेट्रिक टन सुन्तला उत्पादन भएको छ।

    १३० हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट ४०० मेट्रिक टन उत्पादन भएको जिल्लास्थित कृषि ज्ञान केन्द्र कार्यालयले जनाएको छ। विगतमा प्रशस्त सुन्तला उत्पादन हुने गरेकामा किसानको बेवास्ता, बोटमा रोग र किरा लाग्नेलगायत समस्याले उत्पादनमा वृद्धि हुन नसकेको कार्यालयका कृषि प्रसार अधिकृत सरोज थापाले बताए।

    केही वर्षदेखि बर्सेनी सुन्तला उत्पादनमा घट्दै गए पनि गत वर्ष र यो वर्ष तुलनात्मक रूपमा बराबर उत्पादन भएको उनले बताए।

    गाउँसहर, स्याउत, चिती, भोर्लेटार, सिम्पानी, कुन्छा, गहते, दुराडाँडा, राइनास, भोजे, उदीपुर धिमिरेलगायत ठाउँमा बर्सेनी सुन्तला उत्पादनमा कमी हुँदै आएको थापाले जानकारी दिए। कार्यालयका अनुसार गत आवमा पनि १३० हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाखेतीबाट ४०० मेट्रिक टन उत्पादन भएको थियो।

    आव २०७९/८० मा १२५ हेक्टर क्षेत्रफलमा लगाइएको खेतीबाट ५२५ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो।

    आव २०७८र२०७९ मा १८० हेक्टर क्षेत्रफलबाट एक हजार दुई सय ४० मेट्रिकटन, आव २०७७/२०७८ मा २१३ क्षेत्रफलबाट एक हजार ४२४ मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि प्रसार अधिकृत थापाले जानकारी दिए।

    कार्यालयका अनुसार सुन्तलाका लागि लमजुङ उपयुक्त क्षेत्र भए पनि पछिल्लो समयमा विभिन्न रोग तथा किराको सङ्क्रमण, किसानमा प्राविधिक ज्ञानको कमी र बेवास्तालगायत कारणले उत्पादनमा कमी आएको केन्द्रले जनाएको छ।

    सुन्तलाको बोट र फलमा कत्ले, पतेरोलगायत किराको सङ्क्रमण भई एक बोटबाट अर्को बोटमा सार्ने, सिट्रेस डिक्लाइन (उत्पादनमा ह्रास आउने रोग), ग्रिनिङ भाइरसलगायत सङ्क्रमण बढ्नेको कृषि प्रसार अधिकृत सरोज थापाले बताए।

    साथै गोडमेल र स्याहार नहुनु, सिँचाइको अभाव, बिरुवा छनोटजस्ता प्राविधिक विषयमा किसानसँग ज्ञान नहुँदा सुन्तला बगैँचा मासिँदै गएको उनको भनाइ छ।

    जिल्लामा उत्पादन भएका सुन्तला काठमाडौं, पोखरा, चितवनलगायत शहरमा खपत हुन्छ। विगतमा लमजुङमा एक हजार दुई सय हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गर्ने गरिएकामा केही वर्षयता १३० हेक्टर क्षेत्रफलमा मात्र खेती हुँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

    जिल्लामा उत्पादन कम हुँदा बाहिरी जिल्लाका सुन्तलाले स्थानीय बजार लिएका व्यापारी बताउँछन्।

    प्रकाशित : मंगलबार, २३ पुष २०८१ , ०२:१२ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend