Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558
logo

मंगलबार, २३ भाद्र २०८३

मंगलबार, भाद्र २३ २०८३

गाउँको अर्गानिक आटो, सहरिया बुहारी

गाउँको अर्गानिक आटो, सहरिया बुहारी


  • आइतबार, साउन २८ २०८०
  • 832
    SHARES

     

    –सज्जन ढकाल ।
    पछिल्लो समयमा गाउँघरबाट तराई बसाईसराई गर्ने परिपाटी निकै बढ्दो छ । तराई पस्ने र स्वतन्त्र जीवन जिउने चाहना धेरैको मनमा झाङ्गिदै गएको छ । जस्ले गर्दा गाउँघर सुनसान जस्तै बनेका छन् । गाउँमा केही बस्ती उजाड बन्दै वनमाराको झाडीमा परिणत हुँदै गरेका उदाहरण पहाडि समुदायका लागि केही नौलो र अचम्मको विषय पनि रहेन ।

    प्रायः जसो आर्थिक पाटो बलियो गराउँदै तराई झरे कतिपय हावाको तालमा श्रीमान् को खाडी मुलुकको भिजा लाग्न साथ विशेषगरी केटाकेटी पढाउने निहुँमा धेरैजसो बुहारीहरु तराई झर्दै छन् किनकी सुखसयल, सेवा सुबिधा बजारको गुणस्तर अहिले गाउँसंग तुलना गरिँदै छ । यो भिन्नताको विषय पनि हो । आखिर तराई झर्नको कारण के हो ? शहरिया बुहारीलाई प्रश्न गर्ने समय आएको छ ।

    गाउँ आफैमा सुन्दर हराबरा भएको प्रकृतिले बरदान दिएको उपहार हो। अनेकतामा बिबिधता भएको सप्तरङ्गि इन्द्रेणीको किरणमा देखिने छाँयाँको प्रतिबिम्बले स्वर्गको आभाष दिलाएको हुन्छ । तर आज गाउँमा न युवा छन् न बुहारीनै सबै बुढा बुढी मात्र घरमा गाई गोरु केही छैनन् भए बाख्रा होलान् मान्छेको मृत्यु पश्चात् घाट सम्म पुर्याउन पनि मुस्किल पर्ने परिवेशको सृजना नभएको होईन ।

    किनकी गाउँका अधिकांस युवा देस भन्दा बाहिर कि शहर तिरै आफ्नो सुरक्षित अवतरणसंगै भबिष्य खोजी रहेका छन् । छोरा परिवारको खुशिको लागि खाडीमा पसिना बगाउँदै छ। बुहारी केटाकेटी पढाउने बहानामा शहरमा छे । गाउँमा बुढा भएका आमा बुवा जनतन पाखो बारि पखेराको माँयाँले गर्दा अडिएकै छन् । जसो तसो बुढेसकालमा पाखुरो बजार्दै खेत बारिमा कोदो मकै र धान रोप्दै छाक टार्ने जोहो गरिरहेका छन् ।

    खाडीको छोराको कमाई बुहारीसंगै छोराछोरी पाल्दै शहरमा ठिक्क छ। नेपाल सरकारले प्रदान गर्ने वृद्ध भत्ताबाट आमा बुवाले चलाएको घर खर्चको रोदनबाट छोरालाई बन्चित बुहारीले गराएकि हुन्छिन् किनकी शहरमा खर्च गर्न गएकी हुन र शहरको बसाई हजारौं मासिक भाडा तिर्नु पर्छ । उनको दिन चर्या सामाजिक संजालमै बितेको छ।

    फेसबुक, ईमो, भाईबर, युट्युब,टिकटकमै ध्यान छ । केटाकेटी जब स्कुल हिँड्छन् उनको स्वतन्त्रता तब सुरु हुन्छ । किनकी उनी आधुनिक समयकी बुहारी हुन् शहरमा बस्ने सौभाग्य पाएकी छिन् । जब सहरको बसाई लम्बिदै बर्सौं पुग्छ उनले आफ्नो धरातल चटक्कै बिर्सेकी हुन्छिन् ।

    उकालो ,ओरालो,गाई ,गोरु ,भैंसिको गोबर,उनलाई दुर्गन्धित हुन्छ। किनकी हातका औंला भरी लामा लामा नङ , हात खुट्टाका नङमा रातो पोलिस मेहेन्दी संगै हात सजिनुका साथै आँखाका आँखी भौंमा थ्रेडिङ ब्युटिपार्लरमा कपाल आईरन गरि खैरो कलर गरेकी कपाल खुल्ला छोडेर हिड्ने बोलिमा परिवर्तन हुँदै पहिला लुङ्गी लगाएर हिड्ने पाइन्ट लगाउँदै सुन्दर भएकि हुन्छिन् । यो सबै समयको माग र देश अनुसारको भेष पनि हुन सक्छ ।

    फोनमा भन्न थाल्छिन् खाडीको श्रीमानलाई तिम्रा बुवा आमा गाउँले त हुन्, सासु ससुरा केही जान्दैनन् । रोगी, फोहरी पनि छन् कति घिन लाग्दा । उपचार गर्न यहीँ आउँदै छन् मसंगै राख्न सक्दिन घिन लाग्छ । छोरालाई गाई र गङ्गा कस्लाई पुज्ने भने जस्तो अफ्ट्यारो आई लाग्छ ।

    बुहारीले बेलाबेला गाउँघरबाट आटो, पिठो, कोदा,े मकै, फर्सी, गिठा, रिठा, भ्याकुर, पिँडालु आलु, भट्टमास सबै अर्गानिक भन्दै शहरतिर लाने गर्छिन् । त्यो कस्ले फलायो उही गाउँले फोहरी बुढाबुढीले, त्यो केही हेक्का हुँदैन । सायद गाउँबाट लैजान अब गाई भैंसी र बाख्राको मल बाँकी होला सबै चिज सकियो ।

    शहरबाट गाउँ फर्किदा सायद सबै दुई किलो स्याउमै सीमित हुन्छन् किनकी शहरमा सबै किन्न पर्छ । महङ्गी छ । पहाडको अर्गानिक दुःख आकाशबाट वर्षा भएको आटोपिठो, मकै, कोदो र फर्सी सम्झने गर्छन् ! तर बुढेसकालमा बुढाबुढीले गरेको दुःख देख्न सक्ने दूरदृष्टि बुहारीमा शून्य नै छ । छोराको कमाई आमा बुवाले सुको पनि देख्दैनन् महिना नबित्दै बुहारीको बैंक खातामा आईपुग्छ ।

    बेला बेलामा टिकटक भिडियो अपलोड गर्नकै लाडि नयाँ–नयाँ स्थानमा स्कुटीमा सवार बुहारी आधुनिक भएकी छिन् । गाउँको माटो र मायाँ रत्तिभर देखिदैन । मायाँ त छ स्वार्थी भने जस्तो अर्गानिक रिठा, गिठा, आलु, भ्याकुर, कोदोको पिठो र आटोको मात्र छ ।

    खाडीमा पसिना बगाउने दाई अब भाउजुलाई समयमै लगाम लगाईदेउ हैन भने घर न घाटको हुने छौ भन्दा दाई झनक्क गर्दै भन्न थाले आमा समान भाउजुमाथि सङ्खाको नजर नगर् भन्दै उल्टो हप्काउछन् । सबै आमा समान भाउजुको नियत खराब हुँदैन दोष लगाउन खोजेको पनि होईन तर कतिपय अर्कैसङ्ग टाप कसेका उदाहरण र परपुरुषको सवारीमा सवार भइ हिडेको हामी माझ भेटिएकाले सचेत गराउन खोजेको मात्र हो । तर यहाँ आफू नै शत्रु बन्न पुगियो वास्तविक कुरा नपच्ने रहेछ ।

    हाम्रो समाज यस्तै विकृतिबाट अछुतो रहन सकेको छैन । छोरा छोरी पढाउन शहर बसेकी बुहारी गाउँ फर्किने आधार भनेको वर्षैपिछे हुने कुल पूजा र नेपालीको महान पर्व दसैं नै हो । यस समयमा आफूभन्दा बडा मान्यजनको हातबाट टीका र आशीर्वाद ग्रहणको लागी सबै जसो गाउँमानै जम्मा हुने गर्छन् । सो अवधिमा बुढी सासु आमाले जसो तसो कालो कसौंडीमा गाउँको आर्गानिक आटो दाउरामा पकाउने गर्नुहुन्छ ।

    अगेनोमा आगो बल्दैन । दाउरा झरिले रुझी चिसा भएका हुन्छन् । बासको ढुंग्रोले आगो फुक्दा खरानीको धुलो उडि फोहोर हुने गर्दछ । सासुले घ्यार घ्यार आवाजमा खोक्दै फोहोर कपडा काला हातले पनेउँ समाती आटो चलाएको जब बुहारीले देख्छिन् तब फोहोरको सङ्केतमा नाक खुम्च्याउन सुरु हुन्छ।

    सासू आमा अगेनो पो फोहोरी भयो, पकाएको आटो अर्गानिक कति मीठो भन्दै दुई थाल हसुरी दिन्छिन् । सकभर त्यो कालो कसौंडी मैले माझ्न नपरोस् भन्ने उनको भित्री योजना हुन्छ । किनकी हातभरी लामा–लामा नङ पाली पोलिस लगाएकी हुन्छिन् तर हाम्रो संस्कार र रीति रिवाजले उनलाई कालो कसौंडी माझ्नको लागि आन्तरिक दवाब दिएको हुन्छ ।

    माझ्नुपर्ने बाध्यता टडकारो देखिन्छ । तब बुहारीलाई १०२ डिग्रीको ज्वरो आउन थाल्छ । हातमा प्लास्टिक लगाई कालो कसौंडी माझ्न थाल्छिन् किनकी उनलाई नङ भाँचिने र हात कालो हुने चिन्ता बढी हुन्छ । त्यो छिमेकिले देख्छन् र चर्चाको विषय बन्छ ।

    जमना के भयो ! समय कस्तो आयो ! चौतर्फी प्लास्टिक लगाएर भाँडा माजेको कुराले प्रशय पाँउछ । कालो कसौंडी र आर्गानिक आटोले बुहारीलाई गाउँ बसाईको अवधि कम गराई दिएको हुन्छ । चाड पर्वको रौनक सकिएको केही दिनमै शहर झर्न बसको अग्रिम टिकट बुकिङ गरेकी हुन्छिन् । केटाकेटीको पढाई छुट्ने हो कि बहाना भैहाल्यो तर मुख्य कारण अर्गानिक आटो पकाएको कालो कसौंडी माझ्नु पर्ने बाध्यता र टिकटकमा भिडियो अपलोड गर्न र लाईव बस्न नपाउने र ब्युटी मेनटेन नहुनु नै मुख्य हो ।

    गाउँको आटो, पिठा,े मकै, आलु, पिँडालु, गिठा, रिठा, भ्याकुर, फर्सी सबै अर्गानिक रे कालो कसौंडी अर्गानिक बन्न सकेन अब हामी पनि सचेत हुनु पर्ने समय आएको छ । अब गाउँका बुढा आमा बुवालाई अर्गानिक होईन आधुनिक बनाउनुपर्ने देखिन्छ । होईनभने आफ्नै बुहारीबाट अपेहलित हुँदै तिरस्कृत बन्नु पर्ने दोबाटोको निर्माण अवधिलाई अन्त्य र अर्गानिक सबै खानेकुरा माथि नियन्त्रण गर्नुपर्ने देखिन्छ ।

    शहर पसेको केही महिनैमा बुहारीले आफ्नो धरातल बिर्सने परिपाटीको अन्त्य हुनु आवश्यक देखिन्छ । हाम्रो समाजको गलत परम्परा तोड्नु स्वभाविक कर्म हो । यस्मा कुनै आपत्ति छैन । तर बुढा आमाबुवालाई आफ्नो असल संस्कार भित्र अपहेलना गर्नु राम्रो कार्य होईन । गलत नियत भएका सबै बुहारी सच्चिनु पर्ने देखिन्छ ।

    (यो समाजमा देखा परेका घटनाहरुको चित्रण हो ।  कसैसंग सम्बन्धित छैन ।  वास्तविक जीवनसंग  मेल खाएमा संयोग मात्र हुने छ ।)

    प्रकाशित : आइतबार, २८ साउन २०८० , ०२:०९ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend