Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558
logo

बुधबार, २४ भाद्र २०८३

बुधबार, भाद्र २४ २०८३

२० वर्ष अघिको त्यो मेरो दशैं..

२० वर्ष अघिको त्यो मेरो दशैं..


  • सोमबार, कार्तिक ६ २०८०
  • 832
    SHARES

    दशैंको बेला घर लिपपोत गर्नको लागि बिहानै ५ बजे वल्तिर पल्तिरका आन्टि, भाउजु, दिदी बहिनी साथीभाईसंग एउटा सानो कुटो (कोदाली) अनि डोको नाम्लो र थैलो बोकेर नेटा हुँदै नयाँगाउँ पारीपट्टीको सालघारीको भिरमा लुकिलुकि परसम्म सबैले खन्दा–खन्दा सुरुंग जस्तै बनेको खाल्टोबाट रातो माटो (ज्यानको प्रवाह नगरी) खनेर ल्याउन गईन्थ्यो र पो दशैं आए जस्तो लाग्थ्यो।

    त्यसैगरी तात्तातो मकै भट्ट भुटेर बिहानको चिसो शीतले बारम्बार फुत्किरहने चप्पललाई भिजाउँदै अनि कठ्यांग्रिदै फल्लाट केराउछरे हुँदै अँधेरीखोलाका कुकुर हरुको डर लागेर साँसले बोल्दै कन्चौडी गौडा पुगेर ढुक्कले साँस फेर्दै धुवाँखोला र बरेंगका खोँचहरुमा घर पोत्न कमेरो खोज्दा खोज्दा एक जनाको भारी पुगेपनि अर्को साथीको भारी पुर्याउनको लागि (कमेरो खोज्दा खोज्दै) उतै रात पर्थ्यो र पो दशैं आए जस्तो लाग्थ्यो।

    बिहान सबेरै उठेर खरले छाएकै घर भएतापनि फलानोको घर भन्दा राम्रो घर बनाउँछु भनेर गिठावट, भुर्तुंग, तोलाकोट हुँदै कोरेंग माथि गेदास पुगेर गेरु (गांढा रातो माटो) खनेर हिड्ने बेला त्यो माटो भएको जमिनको मालिकले त्यो गेरु लैजान दिन्न भन्दा पनि अब आईन्दादेखि आउँदैनौ माफ़ गर्नुस् भनेर बल्ल बल्ल ४ पाथी गेरु ल्याएर २÷२ चोटी दोहोर्याएर घर लिपिन्थ्यो र पो दशैं आए जस्तो लाग्थ्यो।

    बिहानै झुल्के घाममा स्कुलको चौर अघि आफ्नै छायाँ आफूभन्दा ४ गुणा लामो हेर्दै, लाहुरे र अरबबाट दशैं मान्न घर आएकाहरुले टेप रिकर्डर बजाएर पावर सकिएका बेटरी (ब्याट्री) उनीहरुको खलान र मलखात अगाडि खोजेर ५÷७ वटा जम्मा गरी घरमा लगेर सबै फुटाएर ब्याट्री भित्रको कालो धुलो भाग पानी चुहिने २.५ लिटरको ग्यालेन आधा भागबाट काटेर त्यसमा अलिकति पानी घोलेर बाक्लो बाक्लो बनाएर ति झ्याल ढोकामा लगाईन्थ्यो र पो दशैं आए जस्तो लाग्थ्यो।

    बिहानै शीत नसुक्दै कसको खरबारीमा लामों बाँबियो छ त, भन्दै चोरी चोरी बाबियोको भारी लिएर पिंगको लठ्ठा बाटी ४ वटा बाँस गाढेर, को धेरै मस्किने भनी बाज़ी थाप्दै पिंगको लठ्ठामा तछाड मछाड गरी झुन्डिइन्थ्यो र पो दशैं आए जस्तो लाग्थ्यो।

    अर्काको घरबाट गाईको आलो गोबर चोरी चोरी ल्याएर घरका डिलका प्वालहरु टाल्दै आँगन टिलिक्क पारेर लिपिन्थ्यो र पो दशैं आए जस्तो लाग्थ्यो।

    कारगिल कश्मीरबाट लाहुरेहरु र अरबबाट फलानो फलानो दशैं मान्न आउँदै छन्, मिर्मीसम्म तिनै लाहुरेहरुको भारी बोक्न जाने हो बाबु भनेर गम्बिरे दाईले भन्थे र पो दशैं आए जस्तो लाग्थ्यो।

    बिहानै ६ बजे जुरुक्क उठेर गंगे दाईको आरनमा दुर्गा लाग्नु पहिले (विशेषत असोज महिनामा ख़रंधान काट्नको लागि हँसिया अर्जाब्ने चलन हुन्छ पहाडतिर) छुरा जस्तो बनाएको हँसिया र नाम्लो अनि भारी बाध्नको लागी एउटा डोरी बोकेर लाम्पईरो (धेरै लामों पहिरो गएको ठाउँ) हुँदै पलुवा भोगोरासम्म पुगेर हस्याँग फस्याँग गर्दै आफ्नो तौल भन्दा पनि गह्रौ, शिरदेखि पाऊँसम्मको सिताईलो घासको भारी बोकेर चिप्लो र त्यो साँघुरो बाटोमा लड्दै र पड्दै अरुलेभन्दा छिटो (९ बजे भित्रै) घासको भारी दिनभरको लागि घरमा पुर्याए बापत नवमीको दिन कोट जानको लागि २० रुपैँया पाईन्थ्यो र पो दशैं आए जस्तो लाग्थ्यो।

    नवमीको दिन २० रुपैँया लिएर कोटमा गई मुंरे केरा र बेलाउती (अम्बा) खाँदै यसपाली त ओहो यति धेरै पंचल परेछन् है, फलानोले त राँगो एकै चोटमा छिनायो, फलानोले त छिनाउन सकेन है ! भन्दै साथीसंग बडो उत्सुकताका साथ गफ गरिन्थ्यो र पो दशैं आए जस्तो लाग्थ्यो।

    घरमा आमाले सेलरोटी बनाउँदै गर्दा पहिलो सेलरोटी खान्छु भन्दा, आमाले पहिलो रोटी त भगवानलाई चढाउनु पर्छ नत्र भगवानले काट्छन भन्दा ज्ञानी भएर चुल्होको छेउमा त्यो सेलरोटीको प्रतिक्षा हुन्थ्यो र पो दशैं आए जस्तो लाग्थ्यो।

    दशैंको दिन १, २, ५, १०, २० र ५० रुपैँयाका नयाँ नयाँ नोट थालीमा दहीमा मुछेको रातो टीका र पहेंलो जमरासंगै देख्दा त्यो नयाँ नोट मैले पनि पाउन पाएँ भन्दै सोच्दै टीका जमरासंगै बाबुआमा, हजुरबा, हजुरआमा लगायत सबै मान्यजनको टीका जमरासंगै आशीर्वाद थाप्न पाईन्थ्यो र पो दशैं आए जस्तो लाग्थ्यो।

    तर आज, तर आज !
    सब कहानी जस्तो लाग्छ।
    जम्मा १०–१५ वर्षमै !

    कहाँ गए ति दिन ?
    कहाँ छन ति क्षण ?
    अब मैले भेटाउन सक्छु त ?
    त्यो खुसी !
    त्यो आनन्द !

    आज धन छ होला,
    शहरमा आलिशान महल छ होला !
    तर मेरो मन रोईरहेछ।
    मात्र रोईरहेछ यो प्रदेशमा।

    प्रदेशीको दशैं सम्झनामा मात्रै

    प्रकाशित : सोमबार, ६ कार्तिक २०८० , ०८:३३ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend