logo

शुक्रबार, १५ साउन २०८३

शुक्रबार, साउन १५ २०८३

प्रेस काउन्सिल नेपालको अपिल: कपिलवस्तु घटनापछि जिम्मेवार पत्रकारिता र सामाजिक सञ्जाल प्रयोग गर्न आग्रह

प्रेस काउन्सिल नेपालको अपिल: कपिलवस्तु घटनापछि जिम्मेवार पत्रकारिता र सामाजिक सञ्जाल प्रयोग गर्न आग्रह


  • शुक्रबार, साउन १५ २०८३
  • 13
    SHARES

    कपिलवस्तु, साउन ।
    कपिलवस्तुको सुनसरी क्षेत्रमा भएको घटनापछि देशका विभिन्न स्थानमा देखिएको तनावपूर्ण अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रेस काउन्सिल नेपालले सञ्चारमाध्यम, पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई जिम्मेवार ढंगले सूचना सम्प्रेषण गर्न आग्रह गरेको छ।

    काउन्सिलले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा समाचार, तस्बिर, भिडियो वा अन्य सामग्री प्रकाशन तथा प्रसारण गर्दा तथ्यमा आधारित, सन्तुलित र मानवीय संवेदनशीलता कायम गर्न आग्रह गरिएको छ। अपुष्ट, भ्रामक, उत्तेजक वा हिंसा, घृणा तथा द्वेष फैलाउने सामग्री सम्प्रेषण नगर्न विशेष अनुरोध गरिएको छ।

    काउन्सिलका अनुसार पछिल्ला दिनमा सामाजिक सञ्जाल तथा विभिन्न सञ्चारमाध्यममा प्रकाशित सामग्रीको नियमित अनुगमन भइरहेको छ। आचारसंहिता विपरीत देखिएका सामग्री हटाउन सम्बन्धित सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल सञ्चालकलाई निर्देशन दिइएको र आवश्यक परे थप कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ।

    विज्ञप्तिमा केही सामाजिक सञ्जाल प्रयोगकर्ताले आर्थिक लाभ (Monetization) का लागि संवेदनशील तथा उत्तेजक सामग्री हटाउन आनाकानी गरेकोप्रति पनि काउन्सिलले गम्भीर चासो व्यक्त गरेको छ। मानवीय संवेदनशीलताभन्दा आर्थिक लाभलाई प्राथमिकता दिने प्रवृत्ति पत्रकारिताको मूल मर्मविपरीत रहेको उल्लेख गर्दै यस्ता गतिविधिमाथि अनुसन्धान तथा आवश्यक कारबाहीका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको जनाइएको छ।

    प्रेस काउन्सिल नेपालले सत्य, सन्तुलित र जिम्मेवार सूचनाले समाजमा शान्ति कायम गर्न सहयोग पुग्ने उल्लेख गर्दै सबै सञ्चारमाध्यम, पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई संयम अपनाई सामाजिक सद्भाव कायम राख्न सहयोग गर्न अपिल गरेको छ। उक्त विज्ञप्ति सहायक प्रशासनिक अधिकृत (सहप्रवक्ता/सूचना अधिकारी) रामशरण बोहराद्वारा जारी गरिएको हो।

    प्रकाशित : शुक्रबार, १५ साउन २०८३ , ०९:२९ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend