logo

शुक्रबार, ८ साउन २०८३

शुक्रबार, साउन ८ २०८३

कोटहीमाई गाउँपालिकाका जनस्वास्थ्य अधिकृत राम निवास यादवको निधन, मंगलबार शोक बिदा

कोटहीमाई गाउँपालिकाका जनस्वास्थ्य अधिकृत राम निवास यादवको निधन, मंगलबार शोक बिदा


  • सोमबार, जेष्ठ १९ २०८२
  • 858
    SHARES

    — लोकसारथि संवाददाता, भैरहवा ।

    रुपन्देहीको कोटहीमाई गाउँपालिकामा कार्यरत जनस्वास्थ्य अधिकृत राम निवास यादवको निधन भएको छ। गत बुधबार सवारी दुर्घटनामा गम्भीर घाइते भएका यादवको सोमबार भारतको लखनउमा उपचारको क्रममा निधन भएको हो।

    स्वास्थ्य शाखा प्रमुख यादव कोटहीमाई गाउँपालिकाको “पूर्ण खोप तथा पूर्ण संस्थागत प्रसूति पालिका सुनिश्चितता दिगोपना घोषणा कार्यक्रम” सम्पन्न गरी भैरहवा फर्किने क्रममा दुर्घटनामा परेका थिए। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलतर्फको पछिल्लो सडकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा उनी गम्भीर घाइते भएका थिए।

    दुर्घटनापछि तत्कालै उनलाई भैरहवास्थित युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पतालमा भर्ना गरिए पनि स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि शनिबार भारतको लखनउ लगिएको थियो। लखनउमा उपचारको क्रममा सोमबार दिउँसो २ बजे उहाँको निधन भएको कोटहीमाई गाउँपालिकाले जनाएको छ।

    यादवको निधनप्रति गहिरो शोक व्यक्त गर्दै कोटहीमाई गाउँपालिकाले मंगलबार (जेठ २० गते) शोक बिदा घोषणा गरेको छ। पालिका अध्यक्ष बालकृष्ण त्रिपाठीका अनुसार शोकबिदाका दिन गाउँ कार्यपालिकाको कार्यालय, सबै वडा कार्यालय र स्वास्थ्य संस्थाहरूमा अतिआवश्यक सेवा बाहेकका सम्पूर्ण सेवा बन्द रहनेछ।

    जनस्वास्थ्य अधिकृतको रूपमा गाउँपालिकाको सेवा प्रवाहमा महत्वपूर्ण भूमिका निर्वाह गरेका यादवको असामयिक निधनले स्वास्थ्य क्षेत्र र गाउँपालिकालाई अपूरणीय क्षति पुगेको पालिकाले जनाएको छ।

    प्रकाशित : सोमबार, १९ जेष्ठ २०८२ , ०८:५३ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend