लोकसारथि, माघ १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकास ख्यालठट्टाको कुरा नभएको बताएका छन्। सोमबार भक्तपुरको सूर्यविनायक नगरपालिकाको प्रशासकीय भवन उद्घाटन गर्दै उनले देशलाई स्थायित्व र विकासको बाटोमा अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताएका हुन्।
प्रधानमन्त्री ओलीले मुलुक आर्थिक र सामाजिक रूपमा अप्ठ्यारो अवस्थामा रहेकाले संसद्का दुई ठूला दल, नेकपा एमाले र नेपाली कांग्रेस मिलेर सरकार बनाउनु परेको बताए। उनले नेकपा (माओवादी केन्द्र) को अघिल्लो सरकारलाई मुलुकको आर्थिक ढुकुटी रित्याएको आरोप लगाउँदै अहिलेको सरकार देशलाई अप्ठ्यारोबाट मुक्त गर्न गठन भएको स्पष्ट गरे।
ओलीले भने, “देशलाई स्थिरता र स्थायित्वको बाटोमा लैजान हामीले सरकार गठन गरेका हौं। केही अराजक तत्त्वहरूले तमासा गरिरहेका छन्। मिडियाबाजीले राजनीति हुँदैन। सरकार आजै ढल्छ, भोलि बिहान ढलेको हुन्छ भन्ने बिलौनाको कुनै अर्थ छैन। झन्डै दुई तिहाइको समर्थनमा सरकार बनेको छ, यसले देशलाई स्थिरता र विकासको बाटोमा लैजाने छ।”
प्रधानमन्त्री ओलीले २०४६ सालपछि मुलुकको विकास किन हुन नसकेको भन्दै सरकारको स्थायित्व र सही नेतृत्वले मात्र देशमा परिवर्तन सम्भव हुने बताए। “कांग्रेस र एमालेजस्ता प्रतिस्पर्धी पार्टीहरू मिल्नुको मुख्य कारण देशलाई संकटबाट बचाउनु हो। यदि यो सरकारले पनि विकास गर्न सकेन भने त्यसपछिको निराशा भयानक हुनेछ,” उनले थपे।
ओलीले मुलुकको विकास कुनै मजाकको विषय नभएको उल्लेख गर्दै जनताले विश्वास गर्न सक्ने सरकार निर्माण गर्ने प्रतिबद्धता दोहोर्याए। साथै, देशलाई बलियो र विकसित बनाउँदै लोकतन्त्रलाई सुदृढ बनाउने सरकारको उद्देश्य रहेको उनले स्पष्ट पारे।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
