logo

शुक्रबार, २६ भाद्र २०८३

शुक्रबार, भाद्र २६ २०८३

सञ्चार मन्त्रालयको दोस्रो सय दिन : शतप्रतिशत कार्यसम्पादनको दाबी

सञ्चार मन्त्रालयको दोस्रो सय दिन : शतप्रतिशत कार्यसम्पादनको दाबी


  • शुक्रबार, माघ १८ २०८१
  • 351
    SHARES

    काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले वर्तमान सरकार गठन भएको दोस्रो सय दिनको कार्यसम्पादन विवरण सार्वजनिक गर्दै शतप्रतिशत लक्ष्य हासिल गरेको दाबी गरेको छ ।

    मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव राधिका अर्यालले कार्यसम्पादन प्रतिवेदन सार्वजनिक गर्दै सरकारद्वारा तोकिएको कार्यसम्पादन सफलतापूर्वक पूरा भएको जानकारी दिइन् ।

    दूरसञ्चार र डिजिटल पूर्वाधारमा महत्वपूर्ण प्रगति

    दूरसञ्चार सेवाको सुदृढीकरणका लागि नेटवर्क कभरेजको ग्याप एसेसमेन्ट प्रतिवेदन तयार भएको छ भने डाटा सेन्टरको मापदण्ड पनि तय गरिएको छ । ७५३ वटै स्थानीय तहमा हुलाक कार्यालय सञ्चालनमा आएका छन्, जसअन्तर्गत ६७६ हुलाक कार्यालय, ६ वटा निर्देशनालय, १ गोश्वारा हुलाक कार्यालय, ७० जिल्ला हुलाक कार्यालय तथा ८० हुलाक काउन्टर सञ्चालनमा छन् ।

    फिक्स्ड ब्रोडब्याण्ड सेवाको पहुँच शून्य दशमलब ३६ प्रतिशतले विस्तार हुँदा १ लाख ५१ हजारभन्दा बढी व्यक्ति लाभान्वित भएका छन् । यस आर्थिक वर्षमा सेवा १.७२ प्रतिशतले वृद्धि भई ५ लाख १७ हजारभन्दा बढी व्यक्तिलाई लाभ पुगेको छ ।

    मोबाइल सेवाको पहुँच २ लाख ३७ हजार ४३६ जनासम्म विस्तार गरिएको छ भने कुल २ करोड ९९ लाख ५४ हजार ७११ जनाले मोबाइल सेवा प्राप्त गरिरहेका छन् ।

    फोरजी/एलटीई सेवा दोस्रो सय दिनमा १७ लाख ४९ हजारभन्दा बढी व्यक्तिसम्म पुगेको छ, जसअनुसार हालसम्म २ करोड ५० लाखभन्दा बढी नागरिकले सेवा लिइरहेका छन् ।

    साइबर सुरक्षा र डिजिटलाइजेसनमा सुधार

    मन्त्रालयका अनुसार २० वटा प्रणालीको सुरक्षा अडिट सम्पन्न भएको छ भने हालसम्म ९३ वटा प्रणालीको सुरक्षा अडिट पूरा गरिएको छ ।

    गोरखापत्र संस्थानका पुराना प्रकाशनमध्ये थप १६ वर्षको डिजिटलाइजेसन सम्पन्न भई हालसम्म ८४ वर्षको डिजिटल प्रकाशन सम्भव भएको छ ।

    रेडियो नेपालका थप १४५३ वटा पुराना अडियो टेप डिजिटल गरिएको छ । हालसम्म ५४ हजार ३८६ वटा अडियो टेप डिजिटल गरिएका छन् ।

    समावेशी सञ्चार माध्यममा जोड

    गोरखापत्र दैनिकमा बाम्बुले राई भाषा थप गरी ४५ भाषामा समावेशी सामग्री प्रकाशित गरिएको छ । रेडियो नेपालमा दनुवार भाषा थप गरि २५ वटा भाषामा कार्यक्रम प्रसारण गरिएको छ ।

    समाजिक सञ्जाल नियमन र दूरसञ्चार सुधार

    नेपालमा सामाजिक सञ्जालको दर्ता प्रणाली लागू गर्ने काम अघि बढाइएको छ । टिकटकमा लगाइएको प्रतिबन्ध हटाई नयाँ नियमसहित सञ्चालनको अनुमति दिइएको छ ।

    नेपाल टेलिकम र एनसेलबाट २१०० मेगाहर्ज फ्रिक्वेन्सी प्रयोग वापत क्रमशः ३५ करोड २६ हजार र ३६ करोड १५ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

    नयाँ नीति तथा विधेयक तर्जुमा

    • सार्वजनिक सेवा प्रसारण ऐन, २०८१ लागू भई रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एकीकृत गरी सार्वजनिक सेवा प्रसारण संस्थानको रूप दिइएको छ ।
    • चलचित्र ऐन तथा सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक संघीय संसदमा पेस गरिन लागेको छ ।
    • नेपालमा कृत्रिम बुद्धिमत्ता (AI) नीति तर्जुमा गरी स्वीकृतिको अन्तिम चरणमा पुगेको छ ।

    दोस्रो सय दिनमा सूचना तथा सञ्चार मन्त्रालयले डिजिटल पूर्वाधार, समावेशी सञ्चार, दूरसञ्चार पहुँच विस्तार, साइबर सुरक्षा तथा कानूनी सुधारका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको दाबी गरेको छ । मन्त्रालयले आगामी दिनमा यी उपलब्धिलाई अझै प्रभावकारी बनाउन निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

    प्रकाशित : शुक्रबार, १८ माघ २०८१ , १२:४५ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend