logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

लुम्बिनी प्रदेश सरकार नागरिकको भरोसाको प्रतीक बन्न सफलः मुख्यमन्त्री

लुम्बिनी प्रदेश सरकार नागरिकको भरोसाको प्रतीक बन्न सफलः मुख्यमन्त्री


  • सोमबार, माघ २१ २०८१
  • 247
    SHARES

    लुम्बिनी, माघ २१ — लुम्बिनी प्रदेशले सोमबार आठौं स्थापना दिवस उत्सवपूर्वक मनाएको छ। प्रदेश सभा सचिवालय परिसरमा आयोजित मुख्य समारोहमा प्रदेश प्रमुखको विशेष उपस्थितिमा विविध कार्यक्रमहरू सम्पन्न भए।

    प्रदेश सरकार नागरिकको जीवनसँग प्रत्यक्ष रूपमा जोडिन सफल भएको दाबी गर्दै मुख्यमन्त्री चेतनारायण आचार्यले शुभकामना सन्देश जारी गरेका छन्। उनले विगत सात वर्षमा संघीयता कार्यान्वयनमा लुम्बिनी प्रदेशले महत्वपूर्ण प्रगति गरेको उल्लेख गर्दै भने, “लुम्बिनी प्रदेशको आफ्नै प्रशासनिक संरचना, विकास मोडेल र जनअपेक्षा पूरा गर्ने क्षमतामा हामी दृढ विश्वास गर्दछौं।”

    मुख्यमन्त्री आचार्यले प्रदेश सरकार आम नागरिकहरूको भरोसाको प्रतीक बन्न सफल भएको भन्दै उत्साह व्यक्त गरे। उनले प्रदेशको दिगोपना, कानुनहरूको प्रभावकारी कार्यान्वयन र साझा सरोकारका मुद्दामा सहकार्य गर्दै अघि बढ्ने सरकारको प्रतिबद्धता दोहोर्‍याए। साथै, राजनीतिक स्थायित्व कायम गरी “समृद्ध लुम्बिनी, खुसी नागरिक” को लक्ष्य प्राप्त गर्ने अठोट व्यक्त गरे।

    स्थापना दिवसको अवसरमा बाजागाजासहित झाँकी प्रदर्शन, विभिन्न मन्त्रालयहरूको स्टल प्रदर्शनीजस्ता आकर्षक कार्यक्रमहरू आयोजना गरिएका थिए। प्रदेशभर सार्वजनिक बिदा दिइएपछि नागरिकहरूले उत्सवमा सहभागी हुँदै खुशीयाली साटे।

    यसअघि माघ २१ लाई प्रदेशसभा स्थापना दिवस र फागुन ३ लाई सरकार स्थापना दिवसका रूपमा मनाउँदै आएको लुम्बिनी प्रदेश सरकारले यी दुई दिवसलाई एकै दिन मनाउने निर्णय गरेको छ। सोही निर्णय अनुसार माघ २१ लाई प्रदेश स्थापना दिवसको रूपमा मनाउन थालिएको हो।

    प्रदेश स्थापनाको आठौं वार्षिकोत्सवले नागरिक र सरकारबीचको सम्बन्ध थप सुदृढ बनाएको महसुस गराउँदै लुम्बिनी प्रदेशको समृद्धि यात्रालाई नयाँ उचाइमा पुर्‍याउने विश्वास गरिएको छ।

    प्रकाशित : सोमबार, २१ माघ २०८१ , ०१:१३ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend