logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

पुनको आरोप: ‘ओलीले कुनै पनि बेला संसद् भंग गर्ने तयारी गरिरहेका छन्’

पुनको आरोप: ‘ओलीले कुनै पनि बेला संसद् भंग गर्ने तयारी गरिरहेका छन्’


  • शनिबार, फाल्गुन ३ २०८१
  • 728
    SHARES

    ३ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बेला संसद् भंग गरेर मध्यावधि निर्वाचन घोषणाको तयारी गरिरहेको आरोप लगाएका छन्।

    शनिबार माओवादी केन्द्र भोजपुरको अरुण गाउँपालिकाको दोस्रो अधिवेशन उद्घाटन गर्दै पुनले ओलीबाट लोकतान्त्रिक प्रणाली र लोकतन्त्रमाथि जहिले पनि खतरा रहेको बताए। उनले प्रमुख सत्तारूढ घटक कांग्रेसका नेताहरूलाई ओलीको सम्भावित अलोकतान्त्रिक कदमप्रति सचेत रहन आग्रह गरे।

    विगतमा ओलीले संसद् विघटन गरेको स्मरण गराउँदै पुनले अहिले पनि ओलीले आफ्नो कदमलाई सही सावित गर्न खोजिरहेको दाबी गरे। “ओलीजीलाई लोकतान्त्रिक प्रणाली र संसद् जस्ता संस्थाहरू मन पर्दैन,” पुनले भने, “उहाँले विगतमा गरेको संसद् विघटनलाई सही प्रमाणित गर्न चाहनुहुन्छ। त्यसैले फेरि संसद् विघटन गरेर मुलुकलाई मध्यावधिमा धकेल्ने दुस्साहस गर्न सक्छन्।”

    ओलीसँग मिल्दा धोका भयो: पुन

    पुनले ओलीलाई निरंकुश, स्वेच्छाचारी, र व्यक्तिवादी नेता भएको आरोप पनि लगाए। उनले कांग्रेसको समर्थनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राम्रोसँग सरकार सञ्चालन गरिरहेकै बेला ओलीले पटक-पटक भेटेर नेकपाको एकता कायम राख्न आग्रह गरेको खुलासा गरे।

    “६ महिनासम्म लगातार हाम्रो अध्यक्षलाई भेटेर ओलीजीले एमाले र माओवादी नमिल्ने हो भने २०८४ को चुनावपछि हाम्रो हालत पश्चिम बंगालको कम्युनिस्ट पार्टी जस्तै हुन्छ भनेर मिल्न आग्रह गर्नुभयो,” पुनले भने, “हामीले जनताको चाहना अनुसार एकता गर्‍यौं, तर ओलीजीले धोका दिनुभयो। उहाँ सधैं प्रतिशोध साध्ने योजनामा हुनुहुन्छ।”

    पुनले ओलीले सत्ता टिकाइराख्न अध्यादेशमार्फत शासन चलाउने प्रयास गरिरहेको भन्दै यसबारे सबै सचेत हुनुपर्ने बताए।

    प्रकाशित : शनिबार, ३ फाल्गुन २०८१ , ०३:२१ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend