लोकसारथि, ७ फागुन । हमासको कब्जामा रहेका नेपाली युवा विपिन जोशी जीवित रहेको खबर गत मंसिरमा टाइम्स अफ इजरायलले जनाएको थियो। तर, इजरायल सरकारले औपचारिक रूपमा यसको पुष्टि गर्न सकेको छैन।
इजरायली राजदूत श्मुलिक आरी बास नेपाल आएपछि विपिन जीवित रहेको खबर सुने पनि त्यसको पुष्टि गर्न नसकेको बताएका थिए। इजरायल र हमासबीच युद्धविराम भएको एक महिना बितिसक्दा पनि विपिनको रिहाइको कुनै संकेत देखिएको छैन।
हमासले आफ्नो कब्जामा रहेका कैयौं विदेशी नागरिकलाई क्रमशः रिहा गरे पनि विपिन जोशीको अवस्था अझै अज्ञात छ। नेपालका तीन परराष्ट्रमन्त्रीहरूले विपिनको रिहाइका लागि अमेरिका, कतार, इजिप्ट र इजरायलसँग आग्रह गरे पनि ठोस नतिजा निस्कन सकेको छैन।
परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूका अनुसार कतार र इजिप्टले चाहेमा विपिनको अवस्थाबारे छिट्टै पत्ता लगाउन सकिन्छ। तर, यी देशहरूले नेपालको अनुरोधलाई महत्त्व नदिएको बताइएको छ।
प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विपिन जोशीको रिहाइका लागि भइरहेको प्रयासबारे जानकारी गराउन माग गरेका छन्। यद्यपि, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणाले स्पष्ट जवाफ दिन सकेका छैनन्।
नेपाल सरकारले विपिनको रिहाइका लागि कूटनीतिक पहललाई जारी राखेको जनाएको छ। परराष्ट्र प्रवक्ता कृष्णप्रसाद ढकालले विपिनको रिहाइलाई सरकारको प्राथमिकतामा राखिएको र सुरक्षित रिहाइका लागि प्रयास भइरहेको बताएका छन्। तर, उनको अवस्था अझै अज्ञात रहेको स्पष्ट गरिएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
