संसद् अवरुद्ध गर्दै विपक्षी दलको विरोध, प्रतिनिधिसभा बैठक स्थगित
लोकसारथि डेस्क, १३ चैत । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरिएको विरोधमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित विभिन्न दलले संसद् अवरुद्ध गरेका छन्।
बुधबार बिहान बसेको प्रतिनिधिसभा बैठक माओवादी केन्द्र लगायतका विपक्षी दलको विरोधपछि स्थगित गरिएको हो। बैठक आधा घण्टाका लागि स्थगित गरिएको प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले जानकारी दिएका छन्।
यसअघि बैठकमा माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले सरकारको निर्णयको विरोध गर्दै संसद् चल्न नदिने घोषणा गरेका थिए। उनले आफ्नो सम्बोधनपछि माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका सांसदहरू आसनबाट उठेर विरोध जनाएका थिए।
सभामुख घिमिरेले बैठक सञ्चालनका लागि सांसदहरूलाई बस्न आग्रह गरे पनि विपक्षी दलले विरोध जारी राखेपछि बैठक स्थगित गरिएको हो।
विपक्षी दलको बैठकमा सरकारविरुद्ध कडा निर्णय
यसअघि सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले सरकारले शक्ति प्रयोग गरेर घिसिङलाई जबरजस्ती पदमुक्त गरेको निष्कर्ष निकालेको थियो। विपक्षी दलहरूले संसद् र सडकबाट विरोध गर्ने निर्णय गरेको रास्वपा प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।
परियारका अनुसार सरकारका विधिविपरीत निर्णयहरू र दुई तिहाइको बलमा भएका अन्य गतिविधिहरूको पनि कडा विरोध गर्ने विपक्षी दलहरूको साझा धारणा बनेको छ। “देशको हितमा उत्कृष्ट काम गर्ने कर्मचारीलाई आफूले भनेको कुरा नमान्दा सरकारले जबरजस्ती बर्खास्त गर्ने परिपाटीको प्रतिकार हुनेछ,” उनले भने।
माओवादी अध्यक्षको स्पष्टीकरण
बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भएको छलफलमा संक्रमणकालीन न्यायसम्बन्धी विषयमा मात्रै छलफल भएको र कुलमान घिसिङको बर्खास्तबारे कुनै कुरा नभएको जानकारी गराएका थिए।
कुलमान घिसिङको बर्खास्तीविरुद्ध चर्को विरोध
सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेको थियो।
यस निर्णयलाई लिएर प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र लगायतका दलहरूले चर्को विरोध गरिरहेका छन्। विपक्षी मात्र नभई सत्तारूढ दल नेपाली कांग्रेसभित्र पनि घिसिङको बर्खास्तीप्रति असन्तुष्टि बढिरहेको छ।
संसद् अवरोध कायमै रहने संकेत
विपक्षी दलहरूले संसद् र सडक दुवै ठाउँबाट संघर्ष गर्ने चेतावनी दिएका छन्। यदि सरकार आफ्नो निर्णयबाट पछि हटेन भने अझ सशक्त आन्दोलन गर्ने विपक्षी दलहरूले बताएका छन्।
– लोकसारथि समाचार
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
