logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

प्रधानमन्त्री ओलीले बिम्स्टेक शिखर सम्मेलनलाई सम्बोधन गर्दै, मोदीसँग आज भेटवार्ता हुने

प्रधानमन्त्री ओलीले बिम्स्टेक शिखर सम्मेलनलाई सम्बोधन गर्दै, मोदीसँग आज भेटवार्ता हुने


  • शुक्रबार, चैत्र २२ २०८१
  • 741
    SHARES

    बैंकक, चैत २२ ।
    प्रधानमन्त्री केपी शर्मा ओलीले आज बैंककमा आयोजना भएको बिम्स्टेक (बंगालको खाडीको प्रयासका लागि बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग) को छैठौं शिखर सम्मेलनलाई सम्बोधन गर्दैछन्। सम्मेलनको उद्घाटन आयोजक राष्ट्र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ थान शिनावात्ले गरेका छन्।

    शिखर सम्मेलनको पहिलो कार्यसूचीका रूपमा ‘बिम्स्टेक म्यारिटाइम ट्रान्सपोर्ट कोअपरेसन’ मा सदस्य राष्ट्रहरुले हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ। त्यसपछि सदस्य मुलुकहरू बंगलादेश, भुटान, भारत, म्यान्मार, नेपाल र श्रीलंकाका सरकार प्रमुखहरूले सम्मेलनलाई सम्बोधन गर्नेछन्।

    प्रधानमन्त्री ओलीसहित सदस्य राष्ट्रका प्रमुखहरूको सम्बोधनपछि कार्यसूचीहरू पारित गरिनेछ भने आयोजक मुलुक थाइल्याण्डका प्रधानमन्त्री शिनावात्ले पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय भएको छ।

    शिखर सम्मेलनपछि स्थानीय समय अनुसार अपराह्न ४ बजे प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच द्विपक्षीय भेटवार्ता हुने कार्यक्रम छ। यी सबै कार्यक्रमहरू बैंककस्थित होटेल साङ्ग्रिलामा हुनेछन्।

    प्रधानमन्त्री ओली थाइल्याण्डको पहिलो औपचारिक भ्रमण पूरा गरी बिम्स्टेक सम्मेलनमा सहभागी भएका हुन्। सम्मेलन सम्पन्न भएपछि उनले थाइल्याण्डस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा पनि सहभागिता जनाउने कार्यक्रम छ।

    प्रधानमन्त्री ओलीको भ्रमण दलमा उनकी पत्नी प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा. युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत उच्चस्तरीय प्रतिनिधिमण्डल सहभागी छन्।

    प्रकाशित : शुक्रबार, २२ चैत्र २०८१ , ०७:४९ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend