logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

नेपाल कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवस विविध कार्यक्रमसहित मनाइँदै

नेपाल कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवस विविध कार्यक्रमसहित मनाइँदै


  • मंगलबार, बैशाख ९ २०८२
  • 676
    SHARES

    – लोकसारथि संवाददाता, काठमाडौं ।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ७६औँ स्थापना दिवस आज देशभर विविध कार्यक्रम गरेर मनाइँदै छ। सन् १९४९ अप्रिल २२ अर्थात् वि.सं. २००६ साल वैशाख ९ गते भारतको कोलकातास्थित श्यामबजारको एक घरमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टीको ऐतिहासिक स्थापना गरिएको थियो।

    पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ थिए भने संस्थापक नेताहरूमा नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठको नाम उल्लेखनीय छ। यद्यपि मोतीदेवी श्रेष्ठ स्थापना बैठकमा भौतिक रूपमा उपस्थित थिइनन्।

    कम्युनिष्ट घोषणापत्र प्रकाशित भएको १०२ वर्षपछि र सोभियत सङ्घमा अक्टोबर क्रान्ति सम्पन्न भएको ३२ वर्षपछि नेपाली भूमिमा कम्युनिष्ट आन्दोलनको बीउ रोपिएको थियो। राणा शासनको कडा निगरानीबीच भूमिगत रूपमा स्थापना भएको पार्टीले शोषण, उत्पीडनविरुद्ध जनताको मुक्ति र राष्ट्रिय स्वाधीनताको उद्देश्य लिएको थियो।

    वर्तमानमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, नेकपा (माले) लगायतका कम्युनिष्ट विचारधारामा आधारित पार्टीहरू सक्रिय छन्। २०७५ जेठमा एमाले र माओवादी केन्द्रबीच एकता भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बने पनि त्यो संरचना दीर्घकालीन रूपमा टिक्न सकेन।

    स्थापना दिवसको अवसरमा नेकपा (एमाले) ले आज दिउँसो १२:३० बजे काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा विशेष कार्यक्रम आयोजना गर्दैछ। कार्यक्रममा कम्युनिष्ट आन्दोलनमा विशेष योगदान पु-याएका सात जना विशिष्ट व्यक्तित्वलाई ‘कम्युनिष्ट योद्धा’का रूपमा सम्मान गरिने तथा ‘सेल्टर’ नामक पुस्तक सार्वजनिक गरिने जनाएको छ।

    त्यस्तै, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा लगायत अन्य कम्युनिष्ट घटकहरूले पनि आ–आफ्ना कार्यक्रम गरी यो ऐतिहासिक दिवस मनाइरहेका छन्।

    प्रकाशित : मंगलबार, ९ बैशाख २०८२ , ०९:५९ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend