– लोकसारथि संवाददाता, काठमाडौं ।
आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारको वार्षिक बजेट निर्माणको कार्य तीव्र गतिमा अघि बढिरहेको छ। अर्थ मन्त्रालयले विभिन्न क्षेत्रबाट प्राप्त सुझावहरूलाई समेट्दै बजेट वक्तव्यको मस्यौदा तयार गर्दैछ। मुलुकको आवश्यकता, जनअपेक्षा, र उपलब्ध स्रोत-साधनलाई आधार मानेर बजेट निर्माण भइरहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको नेतृत्वमा अर्थ मन्त्रालयको टोली बजेट निर्माणमा पूर्ण रूपमा केन्द्रित छ।
“प्राप्त सुझावहरू, राष्ट्रिय आवश्यकता र स्रोतको सीमा बमोजिम बजेटको तर्जुमा हुँदैछ”, प्रवक्ता भण्डारीले बताए।
बजेट तयारीको सन्दर्भमा अर्थ मन्त्रालयले मन्त्रालयहरू, विभागहरू, राष्ट्रिय योजना आयोग, प्रमुख राजनीतिक दल, जनप्रतिनिधि तथा विषय विज्ञहरूसँग व्यापक परामर्श गरेको छ।
अर्थमन्त्री पौडेलले कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायत नेताहरूसँग समेत परामर्श गरेका छन्। साथै, पूर्व अर्थमन्त्री, पूर्व सचिव, तथा अर्थशास्त्रीहरूसँग समेत छलफल भएको छ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स लगायत निजी क्षेत्रका प्रमुख संघसंस्थासँग तथा विकास साझेदारहरूसँग पनि अर्थ मन्त्रालयले विशेष परामर्श गरेको छ। साथै, मन्त्रालयले आमनागरिक तथा सरोकारवालाबाट बजेटसम्बन्धी सुझाव माग्दै सार्वजनिक आह्वानसमेत गरेको थियो।
बजेटका सिद्धान्त र प्राथमिकताका रूपमा सरकारले अर्थतन्त्रमा सुधार, रोजगारी सिर्जना, डिजिटल अर्थतन्त्रको आधार तयार गर्ने, भौतिक पूर्वाधारको विकास, र सामाजिक सुरक्षालाई मुख्य प्राथमिकतामा राखेको छ। यी विषयमा संसदमा छलफल सम्पन्न भइसकेको छ।
सार्वजनिक कार्यक्रम अनुसार, आर्थिक सर्वेक्षण जेठ १४ गते संसदमा प्रस्तुत गरिनेछ भने आगामी वर्षको बजेट वक्तव्य जेठ १५ गते अर्थमन्त्री पौडेलले प्रस्तुत गर्ने कार्यक्रम छ।
सरकारले यसपटकको बजेटलाई समावेशी, व्यावहारिक र आर्थिक पुनरुत्थानमा टेवा पुग्ने किसिमले प्रस्तुत गर्ने तयारी गरेको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
