लोकसारथि संवाददाता, काठमाडौं ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशमा पुनः प्रजातान्त्रिक संस्कार र मूल्य मान्यता स्थापित गर्नका लागि फेरि संघर्ष गर्नुपर्ने अवस्था सिर्जना भएको बताएका छन्।
नेपाल प्रजातन्त्र सेनानी सङ्घ, बागमती प्रदेश कार्यसमितिद्वारा आयोजित ‘प्रजातन्त्र सेनानी तुलसीनारायण खमु श्रेष्ठ’ को जीवनीमूलक कृति ‘जीवनगाथा’ लोकार्पण समारोहमा बोल्दै डा. कोइरालाले लोकतान्त्रिक संस्कारको रक्षा गर्न सकसपूर्ण चुनौती आइपरेको बताएका हुन्।
उनले भने, “प्रजातान्त्रिक संस्कारका विषयमा बोल्नेबित्तिकै खोट देखाउने प्रवृत्ति गलत हो। वीपी, गणेशमान र कृष्णप्रसाद कोइरालाको आचरणलाई फेरि कांग्रेसभित्र पुनःस्थापित गर्नुपर्ने अवस्था आएको छ।”
कांग्रेसभित्र नै चेतनाको कमी
डा. कोइरालाले कांग्रेस सरकारमा भए पनि गलत कार्यको विरोध गर्न नसक्ने प्रवृत्तिबाट लोकतन्त्र कमजोर हुने स्पष्ट पारे। “गलत कुरा टुलुटुलु हेरेर बस्नेहरू बिपीका अनुयायी हुन सक्दैनन्। त्यस्ता मानिसहरू दास मानसिकताको उपज हुन्,” उनले भने।
उनले थपे, “हामीले सत्यको पक्षमा बोल्न सक्ने आँट राख्नुपर्छ। लोकतन्त्र केवल कुर्सीमा पुग्ने साधन होइन, यो आचरण, मूल्य र जनताको विश्वास हो।”
राजावादीलगायत आन्दोलनको कारण आचरणमै समस्या
कोइरालाले हाल देखिएको राजावादी वा अन्य विभिन्न नाममा उठेका आन्दोलनहरू लोकतान्त्रिक आचरण कमजोर भएकै कारण भएको बताए। “लोकतान्त्रिक गणतान्त्रिक आचरणको अभ्यास नभएकैले आज जनतामा निराशा र विकल्प खोज्ने सोच पलाएको हो,” उनले टिप्पणी गरे।
लोकतन्त्र बचाउन भित्रैबाट सुधार आवश्यक
डा. कोइरालाले लोकतन्त्रको सुदृढीकरणको लागि बाह्य शत्रु होइन, आफ्नै पार्टीभित्रको कमजोरी, अवसरवाद, र आचरणहीनताको अन्त्य गर्नु पहिलो शर्त रहेको बताए।
उनले सबै कांग्रेस कार्यकर्तालाई बिपीको विचार, समर्पण र आचरणको पुनः स्मरण गर्न र त्यसैअनुसार चल्न आह्वान गरे।
कार्यक्रममा सार्वजनिक कृति ‘जीवनगाथा’
कार्यक्रममा प्रजातन्त्र सेनानी तुलसीनारायण खमु श्रेष्ठको योगदानमाथि लेखिएको ‘जीवनगाथा’ नामक पुस्तकको लोकार्पण गरियो। पुस्तकले नेपाली प्रजातान्त्रिक आन्दोलनमा श्रेष्ठको भूमिका र त्यागको सन्देश बोकेको छ।
नेता कोइरालाको सन्देश थियो – “लोकतन्त्र केवल नारा होइन, आचरण हो। आचरण सुध्रिए लोकतन्त्र आफैं बलियो हुन्छ।”
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
