logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

गृहमन्त्रीको राजीनामाको मागमा अडिग विपक्षी, संसद पुनः अवरुद्ध

गृहमन्त्रीको राजीनामाको मागमा अडिग विपक्षी, संसद पुनः अवरुद्ध


  • शुक्रबार, जेष्ठ २३ २०८२
  • 546
    SHARES

    – लोकसारथि संवाददाता, काठमाडौं ।

    गृहमन्त्रीको राजीनामा र भिजिट भिसा प्रकरणमा छानबिन गर्न उच्चस्तरीय न्यायिक समिति गठनको माग गर्दै संसद अवरुद्ध पार्दै आएका विपक्षी दलहरूले आज पुनः बैठक बसेका छन्। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकक्षमा जारी बैठकमा रास्वपा, एकीकृत समाजवादीलगायतका नेताहरू सहभागी छन्।

    जेठ १३ गतेदेखि जारी संसद अवरोधको कारण महत्वपूर्ण विधेयकहरू पारित हुन सकेका छैनन्। बिहीबार पनि विपक्षीको अडानका कारण ढिलो गरी सुरु भएको संसद बैठक केहीबेरमै स्थगित हुनुपरेको थियो। आज दिउँसो १ बजेका लागि तोकिएको बैठक पनि विपक्षीको विरोधका कारण अहिलेसम्म बस्न सकेको छैन।

    विपक्षीहरू भिजिट भिसा प्रकरणलाई गम्भीर अनियमितता र सत्ता दुरुपयोगको सङ्केतका रूपमा लिँदै गृहमन्त्रीको तत्काल राजीनामा र निष्पक्ष छानबिनका लागि उच्चस्तरीय समिति गठनको माग गरिरहेका छन्। उनीहरूको तर्क छ– जबसम्म गृहमन्त्री स्वयम् पदमा रहँदा छानबिन निष्पक्ष हुन सक्दैन।

    तर, सत्तापक्ष भने गृहमन्त्रीमाथि कुनै औपचारिक आरोपपत्र दायर नभएको भन्दै राजीनामाको मागलाई अस्वीकार गर्दै आएको छ। गृहमन्त्रीले पदमा रहँदै अनुसन्धानमा सघाउने सक्ने भएकाले राजीनामाको आवश्यकता नरहेको सत्तापक्षको अडान छ।

    संसदको बारम्बार स्थगन र विधायन प्रक्रिया प्रभावित हुनुका साथै बजेट अधिवेशनको समयमा देखिएको यसप्रकारको अवरोधले देशको राजनीतिक अस्थिरतालाई अझै गहिरो बनाएको विश्लेषकहरूको टिप्पणी छ। सत्तापक्ष र विपक्षीबीच संवाद र सहमतिको माध्यमबाट निकास खोजिनु आजको आवश्यकता बनेको छ।

    प्रकाशित : शुक्रबार, २३ जेष्ठ २०८२ , ०२:५५ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend