logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

जेनजी आन्दोलनपछि मधेस केन्द्रित दलभित्र नेतृत्व रुपान्तरणको बहस सुरु

जेनजी आन्दोलनपछि मधेस केन्द्रित दलभित्र नेतृत्व रुपान्तरणको बहस सुरु


  • बुधबार, असोज १ २०८२
  • 780
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।

    जेनजी आन्दोलनपछिको राजनीतिक परिस्थितिमा तीन प्रमुख दलभित्र नेतृत्व परिवर्तनको बहस चलेसँगै अब मधेस केन्द्रित दलहरूमा पनि त्यस्तो बहस सुरु भएको छ। मंगलबार बसेको संघीय लोकतान्त्रिक मोर्चा (तराई–मधेस केन्द्रित दलहरूको गठबन्धन) को सचिवालय बैठकमा एकता र रुपान्तरणको आवश्यकता केन्द्रीय एजेन्डाका रूपमा छलफल भएको छ।

    जसपा अध्यक्ष यादवमाथि दबाब

    जनता समाजवादी पार्टी (जसपा) नेपालका महासचिव रामकुमार शर्माका अनुसार बैठकमा जेनजी आन्दोलनको समीक्षा गर्नुका साथै पार्टीभित्र रुपान्तरणको आवश्यकता उठाइएको थियो।
    बैठकमा सहभागी केही नेताहरूका अनुसार जसपा अध्यक्ष उपेन्द्र यादवलाई नेतृत्व छाडेर नयाँ पुस्तालाई अघि सार्न प्रस्ताव समेत गरिएको छ। यादवले भने भावनामा बगेर होइन, यथार्थ समीक्षा गरेर रुपान्तरणमा जानुपर्ने आवश्यकता रहेको बताएका छन्। साथै, उनले मधेस केन्द्रित दलबीचको एकताबारे पनि सकारात्मक संकेत गरेका छन्।

    मोर्चाभित्र विभिन्न मत

    संघीय लोकतान्त्रिक मोर्चाको घटक राष्ट्रिय मुक्ति पार्टीका महासचिव केशव झाले भने जेनजी आन्दोलनले मोर्चामाथि खासै असर नपारेको दाबी गरे। अब यसपछि अझै संगठित ढंगले अघि बढ्ने मोर्चाको निष्कर्ष रहेको उनले बताए।
    झाले आगामी संविधान दिवस (असोज ३ गते) लाई मोर्चाले कालो दिवसका रूपमा मनाउने सहमति भएको जानकारी दिए। उनका अनुसार मधेसी, आदिवासी जनजाति र पिछडिएका समुदायमाथि यो संविधान जबर्जस्ती लादिएको निष्कर्ष मोर्चाले निकालेको छ।

    भ्रष्टाचारविरुद्ध दबाब आवश्यक

    ‘जेनजी आन्दोलन जेका लागि भएको थियो, त्यसकै लागि मोर्चाले दबाब दिनुपर्छ। भ्रष्टाचारको अन्त्य र सुशासनका लागि आन्दोलन भएको थियो भने भ्रष्टाचारीलाई कारबाही हुनैपर्छ,’ झाले भने। उनले रुपान्तरणको बहस दल–दलभित्र अझै तीव्र रूपमा अघि बढ्ने विश्वास व्यक्त गरे।

    शोकसभा र सरकारी बिदा

    मोर्चाले जेनजी आन्दोलनमा ज्यान गुमाउनेहरूको सम्झनामा असोज १ गते (बुधबार) शोकसभा गर्ने पनि निर्णय गरेको छ। यसैदिन सरकारले पनि राष्ट्रिय शोक बिदा दिने निर्णय गरिसकेको छ।

    प्रकाशित : बुधबार, १ असोज २०८२ , ०२:३५ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend