लोकसारथि संवाददाता, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक (एआईजी) देवेन्द्र सुवेदीविरुद्ध साइबर अपराधको कसुरमा उजुरी दर्ता गरेको छ।
माओवादीले एक युट्युब च्यानलमा दिएको अन्तर्वार्तामा सुवेदीले गरेका अभिव्यक्तिलाई झुट्टा र चरित्रहत्या गर्ने प्रकृतिको आरोप लगाउँदै कानुनी कारबाहीको माग गरेको हो। सुवेदीले उक्त अन्तर्वार्तामा भनेका थिए— ‘जेनजी आन्दोलन हुनुभन्दा दुई दिनअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासबाट दुईवटा ट्रकमा दुई करोड रुपैयाँ निकालिएको थियो।’
यही अभिव्यक्तिलाई आधार मानी माओवादी अध्यक्ष प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले आइतबार नेपाल प्रहरीको साइबर ब्युरोमा औपचारिक उजुरी दर्ता गराएका छन्। उजुरीसँगै उनले आवश्यक अनुसन्धान र कानुनी कारबाहीको मागसमेत गरेका छन्।
प्रचण्ड सचिवालयको विज्ञप्ति
प्रचण्डको सचिवालयले जारी गरेको विज्ञप्तिमा सुवेदीको अभिव्यक्तिलाई पूर्ण रूपमा असत्य, भ्रम फैलाउने र चरित्रहत्या गर्ने प्रयासको संज्ञा दिइएको छ।
विज्ञप्तिमा भनिएको छ—
“झुठ्ठा सामग्री प्रवाह गरी भ्रम सिर्जना गर्नुका साथै चरित्रहत्या समेत गरिएको छ। सामाजिक सञ्जालबाट पार्टी नेतृत्वविरुद्ध चरित्रहत्या गरिनु गम्भीर साइबर अपराध भएकाले निज देवेन्द्र सुवेदीविरुद्ध साइबर ब्युरोमा उजुरी दर्ता गरिएको छ।”
सचिवालयले डिजिटल माध्यममार्फत गरिने यस्ता प्रचार–प्रसार साइबर कानुनविपरीत भएको उल्लेख गर्दै दोषीलाई कानुनी कारबाही गर्न आग्रह गरेको छ।
औपचारिक कानुनी प्रक्रिया सुरु
माओवादी केन्द्रले यसअघि बिहीबार एक विज्ञप्ति जारी गरी सुवेदीको अभिव्यक्तिको खण्डन गरेको थियो। त्यसपछि आइतबार पार्टीले औपचारिक रूपमा उजुरी दर्ता गर्दै कानुनी कारबाहीका लागि प्रक्रिया अगाडि बढाएको हो।
पृष्ठभूमि
हालै सामाजिक सञ्जाल र युट्युबमार्फत विभिन्न व्यक्तिहरूले जेनजी आन्दोलन र त्यससँग सम्बन्धित राजनीतिक नेतृत्वमाथि विभिन्न टिप्पणी र आरोप लगाउँदै आएका छन्। माओवादी केन्द्रले यस्ता अभिव्यक्तिहरूलाई राजनीतिक रूपमा दुष्प्रचार भन्दै कानुनी संयन्त्रमार्फत प्रतिवाद गर्ने नीति लिएको जनाएको छ।
साइबर ब्युरोले उजुरी प्राप्त भइसकेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइने बताइएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
