लोकसारथि संवाददाता, काठमाडौं ।
नेकपा (एमाले) को एघारौँ राष्ट्रिय महाधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओली नेतृत्वको समूहले पदाधिकारीहरूको नाम करिब टुंगो लगाएको छ । स्रोतका अनुसार ओली समूहभित्र पदाधिकारी चयनलाई अन्तिम रूप दिने प्रक्रिया अन्तिम चरणमा पुगेको हो ।
अध्यक्ष पदमा केपी शर्मा ओली स्वयं उम्मेदवार रहने निश्चित भएको छ । महासचिव पदमा वर्तमान महासचिव शंकर पोखरेल दोहोरिने लगभग पक्का भएको स्रोतले जनाएको छ ।
उपाध्यक्ष पदका लागि विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’, गुरु बराल र पृथ्वीसुब्बा गुरुङको नाम टुंगो लागिसकेको छ । यस्तै, ओली समूहले प्रदीप ज्ञवालीलाई पनि उपाध्यक्षको सूचीमा राखे पनि उनको नाम भने अझै अन्तिम रूपमा टुंगो लागिसकेको छैन । यस विषयमा अध्यक्ष ओली र ज्ञवालीबीच छलफल जारी रहेको बताइएको छ ।
उपमहासचिव पदका लागि विष्णु रिमाल, भानुभक्त ढकाल र रघुबिर महासेठको नाम फाइनल भएको स्रोतले जानकारी दिएको छ ।
यसैगरी नौ सचिव पदका लागि शेरधन राई, हिक्मत कार्की, राजन भट्टराई, महेश बस्नेत, खगराज अधिकारी, पद्मा अर्याल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र लेखराज भट्टको नाम टुंगो लागेको बताइएको छ ।
यसैबीच, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको समूहले पनि पदाधिकारीहरूको प्यानल टुंगो लगाइसकेको छ । पोखरेल समूहबाट औपचारिक घोषणा हुन बाँकी रहे पनि आन्तरिक तयारी पूरा भइसकेको स्रोतको दाबी छ ।
पदाधिकारी पदका आकांक्षी भए पनि दुवै समूहको प्यानलमा नपरेका नेताहरूले भने स्वतन्त्र उम्मेदवारी दिने तयारी गरिरहेको बुझिएको छ । यसले एमाले महाधिवेशनमा प्रतिस्पर्धा थप रोचक हुने संकेत देखिएको छ ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
