logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

एमाले नेतृत्व चयनका लागि आज अपराह्न ४ बजेदेखि विद्युतीय मतदान सुरु हुने

एमाले नेतृत्व चयनका लागि आज अपराह्न ४ बजेदेखि विद्युतीय मतदान सुरु हुने


  • मंगलबार, पुष १ २०८२
  • 962
    SHARES

    बुटवल । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज (मंगलबार) अपराह्न ४ बजेदेखि मतदान सुरु हुने भएको छ। भृकुटीमण्डपस्थित महाधिवेशन बन्दसत्र हलमा विद्युतीय भोटिङ मेसिनमार्फत मतदान गरिनेछ। आवश्यक प्राविधिक तयारी पूरा भइसकेको रामलक्ष्मण भोटिङ मेसिनका प्राविधिक नवराज पाण्डेले जानकारी दिएका छन्।

    यसअघि दिउँसो १ बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका रहे पनि प्राविधिक पक्ष मिलाउनुपर्ने भएकाले समय सरेको हो। महाधिवेशनमा देशभरबाट २ हजार २६३ जना प्रतिनिधि सहभागी छन्। महाधिवेशनबाट १९ जना पदाधिकारी, ३०१ जना केन्द्रीय सदस्य तथा केन्द्रीय निकायका पदाधिकारीसहित कुल ३५१ जनाको नयाँ नेतृत्व चयन हुँदैछ।

    ओली–पोखरेल प्यानलबीच कडा प्रतिस्पर्धा

    चुनावी प्रतिस्पर्धामा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आ–आफ्नो प्यानल बनाएर मैदानमा उत्रिएका छन्। दुवै पक्षबाट गरी ७ सयभन्दा बढी उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्।

    मतदानका लागि ८० वटा भोटिङ मेसिन राखिएको छ। एक जना प्रतिनिधिलाई मतदान गर्न औसतमा ३५ देखि ४० मिनेट समय लाग्ने अनुमान गरिएको छ। उम्मेदवारको संख्या धेरै हुनु, सबै उम्मेदवारका नाम र फोटो मेसिनमा छुट्टाछुट्टै देखिनु तथा प्रतिनिधिको साक्षरता स्तरका कारण मतदान समय लम्बिने प्राविधिक पाण्डेले बताए।

    उनका अनुसार, उम्मेदवारलाई राम्रोसँग चिन्ने र साक्षर प्रतिनिधिले २० मिनेटमै मतदान सक्न सक्ने भए पनि धेरैलाई ४०–४५ मिनेटसम्म लाग्ने अनुभव विगतमा देखिएको छ।

    १८ देखि २४ घण्टामा मतदान सकिने अनुमान

    एकै पटक ८० जनाले मतदान गर्न सक्ने भएकाले कम्तीमा १८ घण्टा लाग्ने र विभिन्न व्यावहारिक कारणले २० देखि २४ घण्टासम्म मतदान प्रक्रिया लम्बिन सक्ने अनुमान गरिएको छ। नेतृत्व तहबाट मतदान रोक्ने कुनै निर्देशन नआएमा आज रातभर मतदान सकिने र भोलि दिउँसोसम्म अन्तिम नतिजा सार्वजनिक हुने अपेक्षा गरिएको छ।

    मतगणना विद्युतीय प्रणालीबाट तत्काल देखिए पनि सबै मेसिनबाट आएको मत छुट्टाछुट्टै संकलन गरी जोड्नुपर्ने भएकाले अन्तिम परिणाम सार्वजनिक गर्न डेढदेखि तीन घण्टासम्म समय लाग्ने पाण्डेले जानकारी दिए।

    एमालेको नेतृत्व चयनलाई लिएर महाधिवेशन स्थलमा चासो र उत्सुकता उच्च देखिएको छ।

    प्रकाशित : मंगलबार, १ पुष २०८२ , ०१:५३ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend