लोकसारथि संवाददाता, काठमाडौं ।
२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले उम्मेदवारी दिने घोषणा गरेसँगै सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ राष्ट्रिय राजनीतिमा चर्चाको केन्द्रमा आएको छ। २०७० सालदेखि लगातार तीन निर्वाचन जितेको काठमाडौँ क्षेत्र नम्बर ४ छाडेर थापा यसपटक तराई झरेका हुन्।
मानव विकास सूचकांकका आधारमा मधेस प्रदेशकै कमजोर क्षेत्रमा पर्ने सर्लाही जिल्लामध्ये पनि सबैभन्दा पिछडिएको क्षेत्र मानिन्छ—सर्लाही ४। शिक्षा, सहरीकरण, स्वास्थ्य र बालविवाहजस्ता सूचकमा यो क्षेत्र पछाडि परेको देखिन्छ।
काठमाडौँ ४ शतप्रतिशत सहरी क्षेत्र भए पनि सर्लाही ४ सहरीकरणको हिसाबले देशकै कमजोर निर्वाचन क्षेत्रमध्ये पर्छ। राष्ट्रिय जनगणना २०७८ अनुसार दुई लाख २० हजार ८७ जनसंख्या रहेको सर्लाही ४ मा जम्मा ८.७ प्रतिशत मात्रै सहरी क्षेत्रमा बसोबास गर्छन्। बाँकी ९१.३ प्रतिशत जनसंख्या अर्धसहरी वा ग्रामीण क्षेत्रमा बस्छ। जबकि, देशभरको औसत सहरी जनसंख्या २७ प्रतिशत छ।
सर्लाही ४ अन्तर्गत धनकौल गाउँपालिका, रामनगर गाउँपालिका, बलरा नगरपालिका र गोडैटा नगरपालिका पर्दछन्। यस्तै, बरहथवा नगरपालिकाका वडा नम्बर १, २, ३, ४, १३, १४ र १५, बसबरिया गाउँपालिकाका वडा नम्बर १, २ र ३ तथा विष्णु गाउँपालिकाका वडा नम्बर १ देखि ४ सम्म यस निर्वाचन क्षेत्रमा समेटिएका छन्।
सरकारी तथ्यांकअनुसार सर्लाही ४ का करिब आधा बासिन्दा निरक्षर छन्। राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको निर्वाचन क्षेत्रगत जनसांख्यिक प्रतिवेदन अनुसार पाँच वर्षभन्दा माथिका एक लाख ९५ हजार ८९२ जनामध्ये ५४.७ प्रतिशत मात्रै साक्षर छन्। देशको औसत साक्षरता दर भने ७६.२ प्रतिशत रहेको छ।
मधेस प्रदेशकै रौतहट निर्वाचन क्षेत्र नम्बर २ देशकै सबैभन्दा कम साक्षरता दर (५२.४ प्रतिशत) भएको क्षेत्र हो।
लैंगिक दृष्टिले हेर्दा सर्लाही ४ को अवस्था झनै कमजोर देखिन्छ। यहाँ ४६.५ प्रतिशत महिला मात्रै साक्षर छन् भने पुरुष साक्षरता दर ६२.६ प्रतिशत छ। १५ वर्षभन्दा माथिको उमेर समूहमा ६५ प्रतिशत महिला र ४६ प्रतिशत पुरुष निरक्षर रहेको तथ्यांक छ।
स्वास्थ्य जोखिमको अवस्था पनि गम्भीर छ। सर्लाही ४ मा ५५.७ प्रतिशत परिवार मध्यमस्तरको स्वास्थ्य जोखिममा छन्, जबकि राष्ट्रिय औसत २५.३ प्रतिशत मात्र छ।
यस निर्वाचन क्षेत्र बालविवाहको दर बढी हुने शीर्ष १० क्षेत्रभित्र पर्छ। देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये सर्लाही ४ बालिकाको विवाह बढी हुनेमा दशौँ स्थानमा छ। यहाँ करिब ३५ प्रतिशत बालिकाको उमेर नपुग्दै विवाह हुने गरेको तथ्यांक छ। बालकको हकमा भने यो दर करिब ६ प्रतिशत रहेको छ।
महिला घरमुलीको संख्या पनि सर्लाही ४ मा निकै कम छ। ३५ हजार ५६८ परिवारमध्ये ११.१ प्रतिशत मात्रै महिला घरमुली छन्, जुन राष्ट्रिय औसत (३१ प्रतिशत) भन्दा करिब दुई तिहाइले कम हो। यो सूचकमा सबैभन्दा अगाडि प्युठान (४७.६ प्रतिशत) र सबैभन्दा पछाडि पर्सा–३ (६.६ प्रतिशत) रहेको छ।
जातीय संरचनाको हिसाबले सर्लाही ४ मा ‘तराईका जनजाति’ समुदायको बाहुल्य छ। यस समुदायको जनसंख्या ७२ प्रतिशतभन्दा बढी छ, जबकि राष्ट्रिय औसत १६ प्रतिशत मात्रै हो।
आधारभूत पूर्वाधारको अवस्था पनि कमजोर छ। यहाँ १०.९७ प्रतिशत परिवारमा शौचालय छैन। खानेपानीको धारामा मात्र ९.५ प्रतिशत जनताको पहुँच छ भने करिब ९० प्रतिशतले ट्युबवेल प्रयोग गर्छन्। ५७ प्रतिशत जनता कच्ची घरमा बस्छन् भने ३९.६ प्रतिशत परिवार न्यून गुणस्तरका घरमा आश्रित छन्। मोबाइल फोन नभएका परिवारको संख्या १२.५ प्रतिशत छ।
सर्लाही ४ मा १० वर्षभन्दा माथिका ८२ हजार ५७२ महिलामध्ये दुई तिहाइ विवाहित छन् भने ५.२ प्रतिशत एकल महिला छन्।
यस निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ कुल ३० जना उम्मेदवार प्रतिस्पर्धामा छन्। जसमध्ये १३ जना राजनीतिक दलबाट र १७ जना स्वतन्त्र उम्मेदवार हुन्। उम्मेदवारमध्ये दुई जना महिला छन्।
प्रतिस्पर्धामा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेकपा एमालेबाट अमनिशकुमार यादव, नेपाली कम्युनिस्ट पार्टीबाट रजनीश राय, राष्ट्रिय स्वतन्त्र पार्टीबाट अमरेशकुमार सिंह तथा जनता समाजवादी पार्टी नेपालबाट रामेश्वर राय यादव मैदानमा छन्। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा अमरेशकुमार सिंहले स्वतन्त्र उम्मेदवारी दिएर यही क्षेत्रबाट विजय हासिल गरेका थिए।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
