logo

शुक्रबार, २६ भाद्र २०८३

शुक्रबार, भाद्र २६ २०८३

पुनर्निर्माणका लागि तत्काल ठोस योजना ल्याउन प्रधानमन्त्रीको निर्देशन

पुनर्निर्माणका लागि तत्काल ठोस योजना ल्याउन प्रधानमन्त्रीको निर्देशन


  • सोमबार, पुष २२ २०८१
  • 611
    SHARES

    काठमाडौं -विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १५ औं बैठकले पश्चिम नेपाल भूकम्प र २०८१ सालको मनसुनजन्य विपद् पश्चातको पुनर्निर्माणका लागि तत्काल ठोस योजना ल्याउन विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय प्राधिकरणलाई निर्देशन दिएको छ ।

    प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज प्रधानमन्त्री निवास, बालुवाटारमा सम्पन्न बैठकमा आजै भएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकको निर्णयबमोजिम उक्त योजनाका प्रस्तावित विषयहरु प्रस्तुत गरिएको थियो ।

    क्षतिको विस्तृत लेखाजोखा (डिडिए) गर्न बाँकी भए सम्बन्धित मन्त्रालयबाट गराउन र सोका लागि अर्थ मन्त्रालयलाई परिषद्ले दिनुपर्ने प्रस्ताव बैठकमा आएको थियो । प्रस्तुत प्रस्तावका अधारमा ठोस योजना बनाइ यही पुस २८ गते बस्ने परिषद्को बैठकले निर्णय गर्ने गरी आजको बैठक स्थगन भएको छ । परिषदमा सडक पुल तथा यातायात, सरकारी भवन तथा सहरी पूर्वाधार, विद्युत्, वैकल्पिक ऊर्जा र सिंँचाइ, निजी आवास, खानेपानीलगायत क्षेत्रमा आगामी तीन वर्षका लागि रु ९८ अर्ब ६५ करोड २९ हजार ६८ लागत लाग्ने अनुमान प्रस्तुत गरिएको छ ।

    डोटी भूकम्प (बाजुरा, बझाङ समेत) पञ्चातको निजी आवास पुननिर्माण तथा प्रबलीकरण प्रक्रिया प्रारम्भ गर्ने र २०८० सालको बाढीजन्य विपदमा परी बेपत्ता तथा मृत्यु भएका व्यक्तिका परिवारलाई राहत उपलब्ध गराउने विषयमा प्राधिकरणले तयारी गरेको छ । आगामी माघ २ गते हुने भूकम्प सुरक्षा दिवसको कार्यक्रममा पुनर्निर्माणबारे घोषणा गर्ने सरकारको तयारी रहेको छ । बैठकमा उपप्रधानमन्त्रीहरु, मन्त्रीगण, विभिन्न प्रदेशका मुख्यमन्त्रीहरु, नेपाल सरकारका मुख्य सचिवलगायतको सहभागिता थियो ।

    प्रकाशित : सोमबार, २२ पुष २०८१ , ०४:३१ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend