सम्पादकीय
समाजमा स्वाभिमान र अभिमानलाई एकअर्कासँग गाढा रूपमा जोडेर हेरिने गरिन्छ। तर, यी दुई अवधारणाको मर्म भिन्न छ। स्वाभिमान आत्मसम्मान हो, जसले व्यक्तिलाई आफ्नो नैतिकता, मूल्य र असल कर्ममा अडिग रहन प्रेरित गर्छ। यसको विपरीत, अभिमान भनेको अत्यधिक अहंकार हो, जसले व्यक्तिलाई घमण्डी बनाउँछ र अन्य व्यक्तिहरूलाई हेप्ने मानसिकता जन्माउँछ।
स्वाभिमान सकारात्मक शक्ति हो। यसले व्यक्तिलाई आत्मनिर्भर, मेहनती र इमानदार बनाउँछ। स्वाभिमानले सत्यसँग एकाकार हुन प्रेरित गर्छ । आफ्नो यथार्थ पहिचानसँग अर्थात् स्वयंलाई आत्मतत्व स्वरुप जानेर जीवन सार्थक बनाउने उत्प्रेरणा जन्माउँछ स्वाभिमानले । स्वाभिमानीले राम्रा कार्य आफैले सम्पादन गरे पनि त्यसको श्रेय अरुलाई नै दिन्छ । उदाहरणका लागि, कुनै विद्यार्थी आफ्नो परीक्षामा राम्रो अङ्क ल्याउन परिश्रम गर्छ र परिश्रम गर्ने ऊर्जा परमतत्वबाट पाएको मान्छ भने त्यो स्वाभिमानबाट प्रेरित हुन्छ। ऊ आफ्नो क्षमतामाथि विश्वास राख्छ र आफ्नो मेहनतको कदर गर्छ। तर, यदि सोही विद्यार्थी अति आत्मविश्वासका कारण अरूलाई कमजोर देख्न थाल्छ भने त्यो अभिमान बन्छ।
अभिमान भनेको मानिसलाई अन्धो बनाउने तत्व हो। अभिमानको आधार भनेकै असत्य र भ्रम हो । अभिमानले बेमेल र असमानताको भाव पैदा गर्दछ । जसरी रावणले आफ्नो अभिमानकै कारण विनाश भोग्नुपर्यो, त्यसरी नै अभिमानले समाजमा द्वन्द्व सिर्जना गर्छ। इतिहासमा हेरौँ भने, विभिन्न शासकहरू आफ्नो अहंकारकै कारण पतन भएका उदाहरण भेटिन्छन्। अभिमानले व्यक्तिलाई आफैंलाई उच्च ठान्न बाध्य बनाउँछ, जसले पारस्परिक सम्बन्ध बिग्रिन्छ। समाजमा अभिमानीहरुको कमी छैन । धनदौलत, रुपरंग र वंश–जाति–थरको आवरणमा आज पनि भेदभाव र झैझगडाका घटनाहरु भइरहेका छन् ।
स्वाभिमानको लाभ समाजका हरेक तहमा देख्न सकिन्छ। स्वाभिमानी व्यक्तिहरू आत्मनिर्भर, सहयोगी र समानतामा विश्वास गर्ने हुन्छन्। उनीहरू आफ्नो योगदानमार्फत समाजलाई उन्नत बनाउने कार्य गर्छन्। स्वाभिमानी व्यक्ति परानुभूतिले परिपूर्ण हुन्छ । अरुको पीडामा आफूलाई दुःखी ठान्छ । तर, अभिमानी व्यक्तिहरू सधैँ आफूलाई मात्र महत्वपूर्ण ठान्छन्, जसले अन्ततः उनीहरूको एक्लोपन र असफलता निम्त्याउँछ।
स्वाभिमानले व्यक्तिलाई अन्तर्मुखी बनाउँछ, संसारी वस्तुलाई क्षणभंगुर देख्छ र त्याग तथा सन्यासको भाव राख्छ भने अभिमानले बहिर्मुखी बनाई विषय–विकारको भोगतर्फ लैजान्छ र मान, सम्पान, पद, धन आदिको संग्रहलाई ठुलो उपलब्धि ठान्छ । स्वाभिमानीले भन्छ दुर्बललाई सहारा दिनुपर्छ, उसलाई पनि बलियो बनाउनुपर्छ तर अभिमानीले कमजोरहरुलाई हेप्नुपर्छ, तल पार्नुपर्छ भन्ने सोच राख्दछ । जीवनमा स्वाभिमानलाई अँगाल्ने तर अभिमानबाट बच्ने बुद्धिमानी हुनेछ। आत्मसम्मानले सफलता दिन्छ भने अहंकारले पतन। त्यसैले, हाम्रा विचार र व्यवहारलाई स्वाभिमानले निर्देशित गरुन्, अभिमानले होइन।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
