हालसालै प्रेमानन्द महाराजप्रति युवा पुस्ताको बढ्दो आस्था र समर्पण सामाजिक तथा आध्यात्मिक वृत्तमा चर्चा परिचर्चाको विषय बनेको छ। बिहानै दुई नबज्दै युवायुवतीहरू बाबाको दर्शनका लागि उपस्थित हुनु एउटा अद्भुत दृश्य बनेको छ। कुनै सन्तप्रति यसरी युवा वर्ग आकर्षित भएको सम्भवतः यो पहिलो पटक हो।
कुम्भमेलामा आएका एक सिद्ध अघोरी बाबासँग कुनै रिपोर्टरले बाबा प्रेमानन्द महाराजका बारेमा सोधे । सिद्ध अघोरीले भने ‘‘उनी वृन्दावन नगरीमा शरीर रुपमा छन् केवल देखावाका लागि, अरुले निर्णय गर्न नसकून् भनेर । महासन्तका रुप अभिव्यक्त भएका उनी त माँ राधा हुन् । देख्नलाई उनी सन्त हुन् तर साक्षात् राधा हुन्, स्वयं परमात्माका रुप हुन् । आश्रममा आई दर्शन गरेर जान्छन् मानिसहरु तर बुझ्न सक्दैनन् उनी को हुन् भनेर’’ केही आध्यात्मिक व्यक्तित्वहरूले प्रेमानन्द महाराजलाई साक्षात् राधा वा श्रीकृष्णको स्वरूप भएको बताएका छन्। केही उनलाई राधाको प्रेमभावको प्रत्यक्ष अभिव्यक्ति मान्छन् भने केहीका अनुसार श्रीकृष्ण नै राधा हुन्, राधा नै श्रीकृष्ण हुन्। यो अवधारणा वैदिक ग्रन्थहरूमा आधारित भए तापनि सबैका लागि सहज स्वीकार्य नहुन सक्छ।
बाबाप्रति गहिरो आस्था राख्ने कतिपय व्यक्तिहरूले उनीसँग सम्बन्धित अचम्मका अनुभवहरू व्यक्त गरेका छन्। १५ महिना अघि एउटा भिडियो क्लीप हेर्ने अवसर मैले पाएँ प्रेमानन्द महाराज जीको । भिडियो हेर्दाहेर्दै निदाए छु । म निदाएकै बिस्तरामा बाबा आउनुभयो । देब्रे काखीमा चकेटी थियो, काँधमा झोला जस्तो भिर्नुभएको थियो भने अर्को हातमा कमण्डल थियो । उनी सेतो धोती पहिरिएका थिए भने माथिल्लो अंगमा सेतो सल जस्तो वस्त्र थियो । उनी आएर बिस्तरामा बसे । मेरो मनमा विचार खेल्यो, दिउँसो भिडियोमा हेरेको अहिले साक्षात उपस्थित हुनुभयो बाबा । एकछिन् बस्नुभयो उहाँ मेरै आटामा अनि घरदेखि बाहिर निस्कनुभयो । यो दौरानमा उहाँ मसँग केही पनि बोल्नु भएन । मेरो निद्रा खुल्यो । साँझ परिसकेको थियो । ब्युँझिएपछि धेरै बेरसम्म सोचिरहेँ किन जानुभयो बाबा, मलाई छोडेर?
तर्क गर्ने एउटा ठाउँ छ, कुनै पनि दृश्य यदि अवचेतन मनमा बसेको छ भने त्यो नै स्वप्न रुपमा देखिन्छ । यस्ता दृश्य त कति देखिन्छन् कति दैनिक जीवनमा । यस्तै अन्य भिडियोहरु पनि कति हेरिन्छन् कति, सायद त्यस्को गन्ती नै छैन । मैले धेरै जसो क्राइम पेट्रोल हेर्थेँ, हिन्दी फिल्महरु पनि हेर्थैँ त्यो बेलामा तर आजसम्म फिल्म सम्बन्धी वा क्राइम पेट्रोल सिरियल सम्बन्धी मैले स्वप्नमा केही देखेको छैन। बाबा प्रेमानन्दको एउटा भिडियो हेर्दैमा उहाँ मेरो स्वप्नमा आउनु एक संयोग हो कि त्यसमा सन्देश विशेष लुकेको छ ? यस्तो अनुभव मात्र संयोग थियो कि कुनै गूढ आध्यात्मिक सन्देश? यस्ता अनुभूतिहरू दैवी संयोग हुन् वा अवचेतन मनको प्रभाव ? यो खोजको विषय हो । म निष्कर्षमा पुग्न सकेको छैन ।
मनुष्यको अवचेतन मन अत्यन्त शक्तिशाली हुन्छ। कुनै गहिरो रूपमा बसेको दृश्य वा विचार सपनामा पुनः प्रकट हुन सक्छ। तर, किन प्रेमानन्द बाबाको भिडियो हेरेपछि मात्र यस्तो अनुभव भयो? अन्य दृश्यहरू, चलचित्र वा घटना हेरेपछि किन यस्तो अनुभूति भएन? यो प्रश्न गहिरो मनोवैज्ञानिक तथा आध्यात्मिक विश्लेषणको विषय हुनसक्छ।
प्रेमानन्द महाराजको प्रभाव स्वरुप हजारौँ कुमार्गीले आफ्नो मार्ग परिवर्तन गरेका छन् । मांसमदिरा सेवन गर्नेले मासंसमदिरा छोडिदिए । व्यभिचार गर्नेले व्यभिचार छोडिदिए । भ्रष्टाचार गर्नेले भ्रष्टाचार छोडिदिए । के यो सत्ययुगको आगमनको निसानी हो ?
प्रेमानन्द महाराजप्रति युवाहरूको बढ्दो आकर्षण सामाजिक तथा आध्यात्मिक दृष्टिकोणले विशेष चासोको विषय हो। वर्तमान समयमा जहाँ विज्ञान, प्रविधि र भौतिकवादले मानिसको चेतनामा गहिरो प्रभाव पारेको छ, त्यहाँ एक सन्तप्रति यस्तो श्रद्धा हुनु कुनै ठुलो परिवर्तनको संकेत हुन सक्छ। के यसलाई मानिसको आत्मिक तृष्णा मान्ने कि आध्यात्मिक पुनर्जागरण ? यसको उत्तर समयले दिनेछ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
