सम्पादकीय
भोग भाव तजेर योग भावमा अवस्थित हुनुपर्ने समय आएको छ । यद्यपि जीवात्माको मूल सच्चिदानन्द स्वरुप आफैँ उच्चतम स्थिति हो, तनप्रतिको अहम् भावका कारण यो स्वरुप विस्मृत हुन पुगेको छ । पंचभूतजन्य नाशवान र अन्नाश्रित दुर्बल देहको मोह एवं अहँकार छोडेर मनको सम्पूर्ण विचार चक्रलाई परमानन्द तत्वमा स्थिर राख्नु नै वास्तविक योग भाव हो । जसरी जाडोयाममा स्वयंलाई न्यानो राख्न अग्नि, तिर्खाएका बेला प्यास मेट्न जल, अन्धकारलाई दूर गर्न प्रकाश, भोकलाई शान्त पार्न भोजन, तनावबाट छुटकारा पाउन सुमधुर संगीतको संगत चाहिन्छ त्यस्तै जीवन छँदा र जीवनपछि दुबै अवस्थामा परमगति पाउनका लागि परमानन्द तत्वको संगत गर्नैपर्छ । यो नै योग भाव हो । डोरी चुँडिएको चङ्गाको हाल जस्तै परमानन्द तत्वबाट विमुख बनेको जीवात्माको अवस्था हुन्छ । त्यसैले सात्विक स्वरुपको सन्तुलित, सफल र असल जीवन प्राप्तिका लागि परमानन्द तत्वसँग जोडिनु नै योग भाव हो ।
पान पसलदेखि पान किनेर चपायो भने जस्तो सजिलो छैन योग भावमा पुग्न । योग भावको प्राप्ति सहज छैन । यसका लागि धेरै चुनौतीहरु पार गर्नुपर्दछ । प्रथम चुनौती हो ब्रह्मचर्यको पालना । यो चुनौती जसले पूरा गर्छ उसलाई अन्य सबै चुनौतीहरु पार गर्न सहज हुन्छ । आज यही ब्रह्मचर्यको पालना हुन नसक्दा जीवात्मा गन्तव्यहीन बनी भौंतारिएको छ । अनुशासनहीनता, दुराचार, स्वेच्छाचार सर्वत्र व्याप्त छ । व्यक्तिको अन्तर्मन अशान्त छ । धेरै सम्पत्ति बटुरेर, शरीरको भोग गरेर, उच्च पद र मानप्रतिष्ठा पाएर, सुखको प्राप्ति गर्छु भनी ठानेको छ । सम्पत्ति, शरीर, पद र मानसम्मान सबै नाश भएर जान्छ भन्ने कुरा बिर्सिदिन्छ जीवात्माले । यसैलाई भ्रम भनिन्छ । ब्रह्मचर्यको पालना नगर्ने जीवात्मा (व्यक्ति)को पूरा जीवन भ्रममा टिकेको हुन्छ जुन अन्तिममा दुःखको कारण बन्छ । उच्च पद, मानप्रतिष्ठा, शरीर, सम्पत्ति जस्ता नाशवानको संगतले परम शान्ति र परम सुखको प्राप्ति हुन्छ भन्ने विचार राख्नु मायाबलको प्रभाव स्वरुप सिर्जना भएको ठुलो भ्रम हो । यो भ्रमको जालो हटाउन ब्रह्मचर्यको स्थितिमा पुग्नैपर्छ । अहिलेको युवा पुस्ताले यो स्थितिमा पुग्न सकिँदैन भन्ने मान्यता राख्दछ ।
यस मान्यताले युवाशक्तिलाई आजभन्दा भोलि, भोलिभन्दा पर्सी झन् क्षीण बनाउँदै गएको छ । अश्लिल विद्युत्तीय सामग्री हेरेर, भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवसको नाम वा अन्य परिस्थितिमा स्त्रीसंगत गरेर वीर्य क्षय गराउने कार्यमा आजको युवावर्ग व्यस्त छ । यस्तो दयनीय अवस्थाबाट युवा पुस्ता बाहिरिन सक्नुपर्दछ । त्यसका लागि चाहिन्छ एक मात्र दृढ संकल्प । म कमजोर छु, सक्दिनँ भन्ने विचार राखेमा व्यक्ति विस्तारै त्यस्तै बन्छ । विचार बदल्न आवश्यक छ । सकारात्मक विचार नै सकारात्मक संकल्प हो । व्यक्तिको संकल्पले बडा बडा कार्य सम्पादन गर्न बल प्रदान गर्छ । सकारात्मक संकल्प लिन नसक्नेका लागि स्वयं परमात्माले पनि केही गर्न सक्नुहुन्न । स्मरण रहोस् सकारात्मक संकल्प राख्न सक्नु भनेकै परम सत्यलाई चिन्न सक्नु हो । परम सत्यको सान्निध्य नै योग भाव हो । योगलाई सामान्य भाषामा जोडिनु भन्न सकिन्छ । जोडिने कुरा महत्त्वपूर्ण होइन, कोसँग जोडिने भन्ने कुरा महत्त्वपूर्ण हो । जीवात्मा (व्यक्ति) को कल्याणका लागि सच्चिदानन्द स्वरुपसँग जोडिनुको विकल्प छैन ।
ॐ सर्वे भवन्तु सुखिनः
सर्वे सन्तु निरामयाः।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत।
ॐ शान्तिः शान्तिः शान्तिः॥
अर्थात् सबै समृद्ध बनून्, सबै स्वस्थ रहून्, सबैले कल्याणको अनुभव गरून्, कसैलाई कुनै दुःख नपरोस्। ॐ, शान्ति, शान्ति, शान्ति भन्ने अर्थले युक्त माथिको मन्त्र पढेर मात्रै केही हुँदैन । ब्रह्मचर्यको स्थितिमा पुग्नसाथ यो मन्त्रभावले स्वतः मूर्त रुप लिन थाल्दछ । आचरण शुद्ध बन्छ । विचार शुद्ध बन्छ, आहार शुद्ध बन्छ, संस्कार पवित्र बन्छ । त्यसपछि माथिको मन्त्रभावले मूर्त रुप नलिने त कुरै भएन । याद राख्नुहोस् श्रीकृष्ण स्वयं परब्रह्म हुन् । अनन्त कोटि कोटि ब्रह्माण्ड क्षणमै सिर्जना गर्ने, पलमै संहार गर्ने, सृष्टिको पोषण गर्ने शक्ति कृष्णमा छ तर जब उनलाई परमानन्दको इच्छा भयो उनले आफ्नो हृदयको प्रेमबाट आह्लादिनी शक्ति उत्पन्न गरे । यही आह्लादिनी शक्ति राधा हुन् ।
राधानामको जाप गर्नेले परमानन्दको अवस्था प्राप्त गर्न सक्छ भन्ने विश्वास स्वयं सन्त प्रेमानन्द महाराजको छ । शरीरसँग जोडिएर जुन प्रसन्नताको भाव प्राप्त हुन्छ त्यो मजा हो जसलाई आजको पुस्ताले आनन्द मानेको छ । यो मजा त क्षणभंगुर हो । अनन्त आनन्द अर्थात् परमानन्दको प्राप्तिका लागि त योगेश्वर श्रीकृष्णसँगै जोडिनु पर्दछ । श्रीकृष्णसँग जोडिनका लागि सबैभन्दा सरल उपाय हो राधानामको जाप । युवा पुस्तासँग थोरै पनि ज्ञानबल छ भने राधानामसँग जोडिन कठिनाइ छैन । आजका युवाहरु राधानामसँग जोडिन सके दैनिक जीवनमा गरिने कर्तव्य, जिम्मेवारी वा दायित्व झन् राम्ररी सम्पादन गर्न सक्षम हुने छन् । यो त बाहिरी सामान्य फाइदा हो । मूल लाभ त यो दुर्लभ जीवनको सार्थकता सिद्ध हुने छ ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
