सम्पादकीय
नेपालमा लागुऔषधको समस्या दिनप्रतिदिन विकराल बन्दै गइरहेको छ। गृहमन्त्री रमेश लेखकले हालै देशव्यापी लागुऔषधविरुद्धको अभियानलाई प्रभावकारी बनाउनु पर्ने धारणा व्यक्त गरे। लागुऔषधले व्यक्ति, परिवार, समाज हुँदै राष्ट्रकै अस्तित्वलाई चुनौती दिइरहेको तथ्य कुनै नौलो होइन। सरकारले यस्ता अभियन्ता र अभियान सञ्चालन गर्नु सकारात्मक पक्ष हो, तर यो समस्याको जडसम्म पुग्न के हामी सक्षम भएका छौं?
वास्तविकता के हो भने, लागुऔषधको दुर्व्यसन मात्र समाधानको विषय होइन, बरु यसका कारक तत्व पहिचान गरी निवारण गर्नुपर्दछ। राज्यले युवाहरूलाई रोक्न प्रहरी परिचालन गरेर मात्र होइन, समग्र सामाजिक संरचनालाई नै पुनर्संरचना गर्दै दीर्घकालीन समाधान खोज्न आवश्यक छ। किनकि केवल दमन र नियन्त्रणले मात्र यो समस्या समाधान हुँदैन।
नेपालका युवायुवतीहरू विभिन्न कारणले लागुऔषधको चपेटामा परिरहेका छन्। रोजगार अभाव, पारिवारिक असन्तुलन, अवसाद, प्रेम असफलता, र आत्मबलको कमजोर अवस्थाले युवाहरूलाई लागुऔषधको मोहमा पारिरहेको छ। जब समाजमा नैतिक मूल्यहरू खस्किन्छन्, तब मानिसहरू दिशाहीन भएर गलत मार्ग रोज्न बाध्य हुन्छन्। त्यही कारण युवाहरू आत्मघाती प्रवृत्तिको शिकार भइरहेका छन्।
यस समस्याको समाधानको रूपमा हामीले केवल दण्डात्मक नीतिहरूमा निर्भर रहनु हुँदैन। बरु, मानसिक र आध्यात्मिक रूपमा सबल बनाउने उपाय अवलम्बन गर्नुपर्छ। विद्यालय तथा विश्वविद्यालय तहमा नैतिक शिक्षा, ध्यान, योग, र आध्यात्मिक अभ्यासलाई पाठ्यक्रममा समावेश गर्नु अत्यन्तै आवश्यक छ। आध्यात्मिक जागरणले आत्मसंयम, आत्मअनुशासन र जीवनलाई सही दिशामा लैजाने प्रेरणा प्रदान गर्छ।
विश्वका धेरै देशहरूमा शिक्षा प्रणालीलाई नैतिक तथा आत्मबोधजन्य शिक्षासँग जोड्ने अभ्यास सफल देखिएको छ। भारत, जापान, भूटानजस्ता देशहरूले विद्यालय तहबाट नै ध्यान र आध्यात्मिक अभ्यासलाई पाठ्यक्रममा समावेश गरेका छन्। नेपालले पनि यस्तै नीतिहरू अवलम्बन गर्न सक्नुपर्छ। केवल कानूनी कारबाही र प्रहरी नियन्त्रणले मात्रै युवाहरूलाई लागुऔषधको दलदलबाट निकाल्न सकिँदैन। मानसिक रूपले बलियो बनाउने माध्यम भनेकै आत्मचेतनाको जागरण हो।
त्यसैले, लागुऔषधविरुद्धको अभियानलाई सफल बनाउने हो भने, यसलाई केवल सुरक्षात्मक दृष्टिकोणबाट होइन, सामाजिक र आध्यात्मिक सुधारको दृष्टिले हेरिनुपर्छ। सरकारले शिक्षा प्रणालीमा नैतिक र आध्यात्मिक विषय समावेश गरी युवाहरूलाई आत्मबलशाली बनाउने दिशामा ध्यान दिनुपर्छ। केवल प्रहरी प्रशासन र एनजिओहरूको पहलले मात्र होइन, समग्र समाजले नै युवाहरूलाई सही मार्गमा लैजान पहल गर्नुपर्छ।
युवाहरू राष्ट्रका आधारशिला हुन्। तिनलाई आत्मबलशाली र चरित्रवान् नागरिक बनाउने दायित्व समाजको हो। यदि हामीले सही मार्ग अपनाउन सकेनौं भने, केवल लागुऔषधविरुद्धको अभियान मात्र होइन, समग्र भविष्य नै अन्धकारमय बन्न सक्छ। त्यसैले, अबको प्रमुख आवश्यकता ‘आध्यात्मिक आचरण सबलीकरण अभियान’ हो, जसले केवल लागुऔषध होइन, समाजका अन्य विकृतिहरूको पनि जरो उखेल्न सहयोग गर्नेछ। अब मानसिक अस्पताल स्थापना वा लागु औषध विरुद्धको अभियान होइन आध्यात्मिक जागरण ल्याउनु अनिवार्य छ । यो नै सबै समस्याको समाधानको उपाय हो ।
अबेर रातसम्म परपुरुष वा परस्त्रीसँग होटलमा समय बिताउने, मांसाहार, मदिरापान गर्ने, अनैतिक शारीरिक सम्बन्ध राख्ने वा भ्रष्टाचारमा संलग्न अभिभावकका सन्तानले पनि अन्ततः त्यही खालको आचरण अनुशरण गर्ने सम्भावना उच्च हुन्छ। यद्यपि अभिभावकहरू यस्ता अनैतिक कार्यहरू लुकीछिपी गर्छन्, उनीहरू सोच्दछन् कि सन्तानलाई यसको जानकारी हुँदैन। तर, बाहिर गरिएका अनैतिक कर्महरूका कारण सिर्जना भएको विकृत भाव जब उनीहरू लिएर घर प्रवेश गर्छन्, त्यो नकारात्मक ऊर्जा सन्तानमा समेत स्थानान्तरण हुन्छ। यो ऊर्जाको चक्र र प्रभाव हो। त्यसैले, अभिभावकहरूको भाव ऊर्जा सधैं सकारात्मक रहनुपर्छ, जसले परिवारको वातावरणलाई शुद्ध, सन्तुलित र नैतिकतापूर्ण बनाउन मद्दत गर्छ। त्यसैले सन्तानप्रतिको आफ्नो जिम्मेवारी बोध थोरै मात्र पनि छ भने अभिभावकहरु आध्यात्मिक जागरणमा केन्द्रित बनून् ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
