logo

मंगलबार, २३ भाद्र २०८३

मंगलबार, भाद्र २३ २०८३

फिलिपिन्समा शक्तिशाली भूकम्प

फिलिपिन्समा शक्तिशाली भूकम्प

कम्तीमा १९ जनाको मृत्यु, १३४ भन्दा बढी घाइते


  • सोमबार, जेष्ठ २५ २०८३
  • 1.3K
    SHARES

    लोकसारथि संवाददाता ।

    फिलिपिन्सको दक्षिणी मिन्डानाओ टापुको तटीय क्षेत्रमा सोमबार शक्तिशाली ७.८ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ भने १३४ भन्दा बढी व्यक्ति घाइते भएका छन्।

    स्थानीय समयअनुसार सोमबार बिहान ७ः३७ बजे आएको भूकम्पपछि फिलिपिन्स, इन्डोनेसिया, जापान र अष्ट्रेलियामा सुनामीको चेतावनी जारी गरिएको थियो। यद्यपि केही घण्टापछि तीमध्ये अधिकांश चेतावनी फिर्ता लिइएको थियो।

    भूकम्पका कारण विभिन्न भवनहरू भत्किएका छन्। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियो तथा तस्बिरहरूमा लोकप्रिय फास्टफुड चेन जोलिबी (Jollibee) को एक भवन पूर्ण रूपमा ध्वस्त भएको देखिएको छ।

    दक्षिण कोटाबाटो, सुल्तान कुदारात, साराङ्गानी प्रान्त तथा जनरल सान्तोस सहरमा अधिकांश क्षति भएको बताइएको छ। स्थानीय अधिकारीहरूका अनुसार हालसम्म १३४ जना घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएको छ। यद्यपि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् (NDRRMC) ले आधिकारिक तथ्यांक संकलन गरिरहेको जनाएको छ।

    फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्य तीव्र पारिएको जानकारी दिँदै सरकारले मिन्डानाओका नागरिकलाई एक्लो नछाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

    भूकम्पका कारण प्रभावित क्षेत्रमा विद्यालयहरू बन्द गरिएको छ। यो दिन फिलिपिन्समा नयाँ शैक्षिक सत्रको पहिलो दिनसमेत रहेको थियो। डाभाओ ओक्सिडेन्टल प्रान्तस्थित एक विद्यालयले सार्वजनिक गरेको भिडियोमा विद्यार्थीहरू भूकम्पका बेला त्रसित अवस्थामा खुला स्थानमा बसिरहेको देखिन्छ।

    प्रारम्भिक भूकम्पपछि १.३ देखि ६.७ म्याग्निच्युडसम्मका १३० भन्दा बढी परकम्प (Aftershocks) रेकर्ड गरिएको छ। साराङ्गानी प्रान्तमा केही समय विद्युत् तथा सञ्चार सेवा अवरुद्ध भए पनि पछि पुनः सञ्चालनमा आएको जनाइएको छ।

    भूकम्पपश्चात् जापानले आफ्नो दक्षिणी ओकिनावा क्षेत्रमा एक मिटर उचाइसम्मका सुनामी छाल आउन सक्ने चेतावनी जारी गरेको थियो। पछि ओकिनावा तथा ओगासावारा टापु क्षेत्रमा केही सेन्टिमिटरदेखि २० सेन्टिमिटरसम्मका छाल मापन गरिएको अधिकारीहरूले बताएका छन्।

    इन्डोनेसिया, पलाउ तथा फिलिपिन्सका विभिन्न तटीय क्षेत्रमा पनि केही सेन्टिमिटरदेखि १.४ मिटर उचाइसम्मका समुद्री छाल रेकर्ड गरिएको छ।

    फिलिपिन्स प्रशान्त महासागरीय ‘रिङ अफ फायर’ क्षेत्रमा पर्ने भएकाले त्यहाँ बारम्बार भूकम्प आउने गर्छ। अधिकांश भूकम्प सामान्य भए पनि केही विनाशकारी हुने गरेका छन्। गत वर्ष सेप्टेम्बरमा मध्य भिसायास क्षेत्रमा आएको ६.९ म्याग्निच्युडको भूकम्पमा ७० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो।

    प्रकाशित : सोमबार, २५ जेष्ठ २०८३ , ०२:४२ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend