Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

सम्पादकीय: मानवजातिका १० मौलिक गुणहरू

सम्पादकीय: मानवजातिका १० मौलिक गुणहरू


  • आइतबार, असोज १४ २०८०
  • 1.4K
    SHARES

     

     

    धृतिः क्षमा दमोऽस्तेयं शौचमिन्द्रियनिग्रहः।
    धीर्विद्या सत्यमक्रोधो दशकं धर्मलक्षणम्।

    धैर्यता, क्षमा, आत्म–संयम, चोरी नगर्नु, पवित्रता, इन्द्रियहरूमा नियन्त्रण, बुद्धिको प्रयोग, आत्म–ज्ञान, सत्यता र क्रोध–मुक्ति यी दस क्षेत्रहरूले मानिसका मौलिक गुणहरूको प्रतिनिधित्व गर्दछन् । मौलिक गुणहरूलाई नै मानिसले आफ्नो धर्म भनेर चिन्न सक्नुपर्छ । धर्म एक कवच हो जसले यस जीवनकालमा पूर्णता प्राप्तिको यात्राभरी रक्षा गर्दछ । मौलिक गुणहरूबाट निस्किरहने प्रकाशले उचित मार्गदर्शन पनि गर्दछ । स्मरण रहोस् कि मौलिक गुणहरू सर्वकालसिद्ध भेषज हो, यसले भित्र बाहिरदेखि सामाजिक प्राणीलाई तन्दरुस्त राख्दछ । आध्यात्मिक पक्ष जति स्वस्थ रहन्छ उति नै स्वस्थ समाज बन्छ । आज समाज धेरै विरामी भएको छ, कारण एउटै हो –क्षीण मौलिक गुणहरू ।

    धैर्यताः
    मानिसको जीवनमा धैर्यता हुनु आवश्यक छ । यसको अर्काे कुनै विकल्प छैन । धैर्यताको सिधा सम्बन्ध मानसिक पक्षसँग रहेको हुन्छ । बीज धराको गर्भमा पर्नसाथ न त अँकुरित हुन्छ न फल नै दिन्छ । सबै प्रक्रिया शनै शनै हुँदै जाने हुन् । सम्पादित सम्पूर्ण कर्मको फल तुरुन्तै हात पर्दैन । भक्त प्रह्लाद, मीराबाई, ध्रुव, एकलव्य जस्ता पात्रहरूकठिनतम अवस्थाबाट गुज्रिए तर उनीहरूले धैर्यता त्यागेनन् । फलस्वरुप आफ्नो लक्ष्य भेटाइ छाडे ।

    क्षमाः
    हामीले जे दिन्छौँ त्यही लिन्छौँ । लेनदेन जहिले नि बराबर मूल्यमा आधारित हुन्छ । खुशी दिंदा खुशी पाइन्छ, पीडा दिंदा पीडा नै भागमा पर्दछ । गल्ती सबैबाट हुनेगर्छ । जानेर वा नजानेर । अन्जानमा भएको गल्तीको पाप–प्रभाव जानाजानी गरेको गल्तीभन्दा थोरै हुन्छ, तर कर्मफल मिल्छ नै । आफूले अरुको गल्तीलाई क्षमा गर्ने आँट राख्दछौं भने हाम्रो गल्तीले पनि अरुबाट क्षमा पाउन सक्छ । क्षमा मौलिक गुण अहँकारीहरुमा निष्क्रिय अवस्थामा रहेको हुन्छ । मार्नेभन्दा बचाउने ठूलो भने झै, दण्डभन्दा क्षमादान दिने महान् हुन्छ । तत्त्वज्ञान नभएकाहरुले कुनै न कुनै बहानामा मानिसको अपमान गर्दछन् । कहिले जातीयताको नाममा, कहिले गरिबी त कहिले निम्न सामाजिक हैसियतका नाममा उनीहरुले अपमान गरेकै हुन्छन् । भ्रमजन्य यस्तो व्यवहारको अपमानलाई सहनु पाप होइन । तर स्वयंलाई निकृष्ट ठान्नु ठूलो पाप हो । हाम्रा कर्म निकृष्ट हुनसक्छन् तर ईश्वरीय सत्तामा रहेका र ईश्वरीय गुण बोकेका हामीहरु निकृष्ट हुन सक्दैनौं ।

    आत्म संयमः
    एक पटक त हो नि, अर्काे पटकदेखि आत्म संयमी बनम्ला भन्दै मानिसहरु ठूला ठूला पापमय दुस्साहस गरिरहेका हुन्छन् । मनमा नियन्त्रण राख्नु कठिनतम कार्य हो । यो सबैको वशमा हुन्न । प्रलोभनको शिकार बन्न मन तयार हुन्छ भने त्यस्ता व्यक्तिलाई आत्म संयमी मानिदैन । संसारी वस्तु चाहे स्वादिष्ट भोजन होस् चाहे स्वर्गकी अप्सरा, वा कुबेरको धन अथवा इन्द्रैलाई जस्तो सम्मान वा १००० वर्षको आयु मानिसलाई केहीले पुग्दैन । मन अनुसार आफू नचलेर मनलाई आफ्नो इच्छा अनुसार चलाउनु नै आत्म संयमको उदाहरण हो । आज पुग्छ, भोलि पुग्छ भन्दा भन्दै जीवन गुमी सकेको हुन्छ । चाहना (इच्छा वा कामना) सबै दुःखको मूल हो भने वैराग्य परम सुखको आधार भनेर जान्नु पर्दछ ।

    चोरी नगर्नुः
    आवश्कताभन्दा धेरै खानु, चाहिएभन्दा अधिक सम्पत्ति संकलन गर्नु, अनावश्यक कुराहरुको चाहना राख्नु, शारीरिक जरुरत अनैतिक ढंगले प्राप्त गर्नु वा पूरा गर्नु, अर्काको जायजेथा अधिग्रहणमा लिनु आदि जस्ता सबै कार्यहरुलाई चोरीको श्रेणीमा राखिन्छ । लोभ गर्नु वा गैरकानूनी विधिप्रक्रियाबाट सम्पत्तिको स्वामित्व ग्रहण गर्नु पनि चोरी नै हो । पुरुषार्थ बिना आर्जन गरिएको कुनै पनि भौतिक अभौतिक चिज वस्तु चोरी भित्र पर्दछ । यस्ता कार्यहरुबाट आफूलाई टाढा राख्नु नै ‘अस्थेयम’ नामक अर्काे मौलिक गुण हो ।

    पवित्रताः
    हामी पानी मिसिएको दूधलाई स्वीकार गर्दैनांै । धूलो, धुँवायुक्त हावामा श्वास फेर्दैनौंं । दूषित जल ग्रहण गर्दैनौं । किनकि यसले हाम्रो स्वास्थ्य र जीवनलाई प्रभाव पार्दछ । कार, मोटरसाइकल, लुगा मैलिन्छ त्यसलाई पनि धुन्छौं । खाना खानु अघि थाललाई पानीले पखालेर चोख्याउँछौं । वातावरणको सरसफाइ त अभियानकै रुपमा अगाडि बढाएका हुन्छौं । हाम्रो शरीर भित्रका विकारयुक्त पदार्थहरु पनि स्वचालित रुपमा बाहिर निस्किरहेका हुन्छन् । यी त भए सतही शुद्धताका कुरा । हाम्रा वाणी (वचन)मा पनि शुद्धताको उपस्थिति आवश्यक छ । यौटा उखानै छ ‘प्राण जाओस् वचन जाँदैन’ । वचनको शुद्धतामा जीवन बिताउने मानिसहरुले आज ठूलो सफलता पाएका छन् । भारतीय उद्योगपति, परोपकारी तथा टाटा सन्सका पूर्व अध्यक्ष रतन टाटाले अविवाहितै रहेर सारा जीवन करियर निर्माणमा लगाए । उनले विवाह गर्दिन करियर बनाउँछु भन्ने सोच बनाए अनि त्यस सोचप्रतिको इमानदारितालाई कहिलै गुमाएनन् । त्यसैगरी अर्काे शुद्धता हुनु पर्छ विचारमा । विचारको शुद्धता भन्नाले कसैप्रति वैमनस्वताको भाव नराख्नुलाई बुझाउँछ । घमण्ड, छलकपट, बेइमानी, क्रुरता आदि भागवत प्राप्तिका बाधक हुन् । राक्षसहरुको तपबल देवताभन्दा धेरै छ तर उनीहरुमा शुद्धताको अभावका कारण जहिले नि हारको सामना गर्न बाध्य छन् । त्यसैगरी वंश अगाडि बढाउने उद्देश्य नराखी केवल भोग मस्तिका लागि मैथुन कार्य गर्नु पनि अशुद्धता वा अपवित्रताकै प्रतिरुप हो । अहिले सत्ता पक्ष नै अउमऊँ शब्दलाई शब्दकोषबाटै हटाउने भन्दै सुरिएको छ । सार्वभौम सम्पन्न नागरिकलाई सोही रुपमा पहिचान नगरेर राज्यले दलित भनी सम्बोधन गर्छ । ऊँ शब्दलाई शब्दकोषबाटै फाल्न खोज्नेले दलित शब्द हटाउन आँट गर्दैन । यो मलिन विचारको उत्कर्ष हो । राज्य हाँक्छु भन्नेहरुकै विचारमा शुद्धता छैन भने देशमा राष्ट्रिय अण्डताको रक्षा र सुख, शान्ति, समृद्धिको बीजारोपण हुने कुरा त दिवास्वप्न मात्रै न हो ।

    इन्द्रियहरुमा नियन्त्रणः
    रङ्गीचङ्गी संसारतिर आकर्षित हुनु, माया (भ्रम)मै बाँच्ने अभिप्रेरणा दिनु, लोभ लालचमा फँसाउँनु इन्द्रियहरुको कार्य हो । यिनलाई वशमा राख्ने अभ्यास गरिएन भने परिणाम विपरीत प्रकारको देखा पर्दछ । विलासिताबाट हटाइ इन्द्रियहरुलाई भगवत प्राप्तिमा लगाउने हो भने विस्तारै त्यसैको बानी बस्छ किनकि इन्द्रियहरुको स्वाभाविक कर्म भनेकै परमात्माप्रति समर्पित हुनु हो । जसले यो मौलिक गुण त्यागेको हुँदैन उसले दिव्य मार्गदर्शन पाउन थाल्नु आश्चर्यको विषय नै होइन । एक जना मेरा अधिकारी थरका मित्र भन्ने गर्छन् बजियाले ब्रोइलर कुखुरा तेलमा फ्राइ गर्छ, मीठो वास्ना आउँछ, रोक्न सक्दिन, एक दुई गरी धेरै पिस खाइ दिन्छु, यसैले शरीरको तौल बढाइ दियो । उनको रगतमा कोलेस्टेरोल बढेको छ, रक्तचाप नियन्त्रण गर्ने औषधि पनि दैनिक रुपमा खान्छन् । तर इन्द्रियहरु उपर नियन्त्रण छैन । उनका छोरा जसलाई एकछिन अगाडि बजिया भनेका थिए ले किचेनमा मासु पकाउँदा यिनी स्वाद लिन चुक्दैनन् । अधिकारी आफै स्वीकार्दछन कि ब्रोइलर कुखुरालाई खुवाइएको भिटामिन र लगाइएको सुइ सबै मासु मार्फत उनको शरीरमा प्रवेश गरेको छ ।

    बुद्धिको प्रयोगः
    सल्लाह सबैको लिनु, निर्णय आफ्नै बुद्धिले । विचार होस्, फैसला होस् वा धन सम्पत्तिको आयआर्जन । आफ्नै पुरुषार्थको लगानी छ भने त्यसप्रतिको अपनत्व बेग्लै किसिमको हुने गर्छ । मन ऊर्जाको केन्द्र हो । यो ऊर्जा प्रयोग गरेर बुद्धिले कुनै पनि विषय वस्तु वा घटना क्रमसँग सम्बन्ध स्थापित गर्दछ । बुद्धि तर्क वितर्क उत्पादन गर्ने एक उद्योग हो । तर्कवितर्क विवेक परक हुन सक्छ भने विवेकसँग त्यसको कुनै सम्बन्ध नहुन नि सक्छ । बुद्धिभन्दा उच्च तह हो विवेक । विवेकसम्म पुग्न र विवेकबाट अर्काे तह ज्ञानसम्म पुग्नका लागि पहिलो बिन्दु भनेकै बुद्धि हो । जति सत्यको सानिध्यता बुद्धिले प्राप्त गर्दछ उति ने व्यक्तिको विवेक जागृत हुँदै जान्छ । जति विवेक जागृत हुन्छ उति व्यक्ति ज्ञानको धनी बन्छ । विवेकको सम्बन्ध सत्यसँग हुन्छ भने ज्ञानको सम्बन्ध आत्मासँग । आत्मा मार्फत् परमात्माले जीवात्मालाई ज्ञान प्रदान गर्दछन् , ठीक त्यसरी जसरी दूधमा घ्यु लुकेको हुन्छ, दाउरामा अग्नी, आत्मामा ज्ञान हुन्छ । हाँस्नु, रुनु, भोकको अनुभूति, खानु पिउनु, निद्रा लिनु, निश्चित उमेर पुगेपछि वंश वृद्धिका लागि मैथुन कार्यमा सहभागिता लिनु, यी जीवात्माका अत्यावश्यक कार्य हुन् जसलाई सम्पादन गर्नको निमित्त कुनै तालिम लिनु पर्दैन, कसैले सिकाउनु पर्दैन । बुद्धिले जहिले नि विवेक र सत्य ज्ञानको संगतमा रहनु पर्दछ । बुद्धिको सम्बन्ध तर्कसँग, विवेकको सम्बन्ध बोधसँग र ज्ञानको सम्बन्ध मुक्ति एवं मोक्षसँग हुन्छ । तर बुद्धिको प्रयोग त्यही अनुरुपले गर्नु पर्दछ अनि मात्र जीवात्माको जीवन सुखमय बन्न सक्दछ ।

    आत्म–ज्ञानः
    आत्म–ज्ञान भनेकै स्वयंको पहिचान हो । ५–६ वर्षको निरन्तर अध्ययन पछि डाक्टरी विद्या आर्जन गरेका, दिनमै १–२ लाख कमाउने सामथ्र्य राखेका डाक्टरसँग आत्म–ज्ञान नहुन सक्छ । तर भौतिक सम्पत्तिको नाममा केही नभएका सच्चा योगी, सन्त, सन्यासी आत्म–ज्ञानी हुन सक्छन् । सर्वत्र भय, त्रास, आसुरी प्रवृत्ति सबै अज्ञानकै परिणाम हो । आत्म–ज्ञान जहाँबाट सुरु हुन्छ त्यहाँदेखि भय र भ्रमको अन्त्य हुन्छ । आत्म–ज्ञानको अभावमा व्यक्ति आफ्ना मूल कर्तव्य र दायित्वबाट टाढिन्छ । अज्ञानीहरु आवश्यकताभन्दा बढी संकलन र सञ्चयमा विश्वास राख्दछन् भने आत्म–ज्ञानीहरु त्यागका अभ्यासी हुन्छन् ।

    सत्यताः
    आत्म–ज्ञानले युक्त व्यक्ति जहिले नि सत्यप्रेमी हुन्छ । सत्य त्यो हो जुन कहिलै परिवर्तन हुँदैन, अखण्डनीय हुन्छ, सर्वकालमा एक समान रहन्छ । सत्यको न आदि हुन्छ न अन्त्य । परमात्मा सत्यको पयार्यवाची हो । आत्माको मूल लक्ष्य परमात्मा प्राप्ति अर्थात् परामात्मासँग एकाकार हुनु हो । यो तब मात्रै सम्भव छ जब सबै मौलिक गुणहरु उच्चतम अवस्थामा सक्रिय रहन्छन् ।

    क्रोध–मुक्तिः
    गरिएको अपेक्षा पूरा भएन भने त्यसले क्रोध जन्माउँछ । कोबाट कस्तो अपेक्षा ? संसारबाट संसारी अपेक्षा । कसैसँग अपेक्षा राख्न नपर्ने अवस्थामा पुग्नु त्यति सरल छैन । आफ्ना छोराछोरी, आफ्नो श्रीमती, भाइबन्धु, साथी, छिमेकीहरुसँगको सम्बन्ध कुनै न कुनै स्वार्थमा टिकेको हुन्छ । जुन दिन त्यो स्वार्थ समाप्त हुन्छ तत्काल संसारी सम्बन्ध पनि ध्वस्त हुन्छ । त्यस कारण एक दिन सम्बन्ध नासिने नै हो भने त्यो नासिने सम्बन्धप्रति मोहमायामा पर्नुको अर्थ हुँदैन । क्रोध मुक्त हुनु भनेकै सत्यता र आत्म ज्ञानको यात्रामा उन्मुख बन्नु हो । यसैमा कल्याण छ । यिनै हुन् मानिसका मौलिक गुणहरु जसलाई सक्रिय राख्न निरन्तर प्रयासरत रहनुपर्दछ ।

    प्रकाशित : आइतबार, १४ असोज २०८० , ०६:४१ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend