


नेपालमा सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । अश्लिलता फैलाउँदै सामाजिक सदभाव बिगार्ने समेतको कार्यमा टिकटिकले भूमिका खेलेको पाएपछि कात्तिक २६ गते नेपालको मन्त्रीपरिषदले टिकटकलाई प्रतिबन्ध लाउने निर्णय गरेको छ । यस निर्णयको धेरैले स्वागत गरेका छन् भने धेरैलाई यसले पीडा दिने काम गरेको छ । टिकटक बन्द गर्ने निर्णयबाट खुशी हुनेहरुमा प्रायः पुरुष नै छन् । जसका सन्तान अध्ययन र घरको कामधन्दामाभन्दा टिकटकमा बढी समय बिताउँछन् ती अभिभावकहरु पनि सम्भवतः यस निर्णयबाट सन्तोषको सांस लिए होलान् । अन्य सोशल एपभन्दा टिकटकमा अत्याधिक फ्यान् फलो भएकाले पनि करोडौंको संख्यामा दुनियांभरमा यसका युजर्स थपिदै गएका छन् ।
अरुभन्दा पनि उदाउँदै गरेका नयाँ प्रतिभाले आफूमा रहेको कला र गला दर्शकसम्म पुर्याउन टिकटिकलाई प्लेटफर्मको रुपमा प्रयोग गर्न पाएका छन् । दूरदराज वा देशको कुनाकाप्चामा रहेको प्रतिभालाई यसले काठमाडौको स्टुडियोसम्म पुर्याएको छ भने प्राकृतिक आपदा वा अन्य कुनै कारणले समस्या तथा अन्यायमा परेकाहरुलाई समेत समाधान खोजिदिने माध्यम बनेको छ टिकटक । मानिसहरुलाई मात्रै नभइ समसामयिक घटनाहरुलाई समेत यस एप (App) ले रातारात वाइरल (Viral) बनाइदिएको छ । कतिपयले त यसलाई माध्यम बनाएर घरेलु उपचारको प्रचार, अंग्रेजी सिकाइको तरिका, सामान्य ज्ञान, विज्ञान, योग शिक्षा तथा अध्यात्मको चर्चाका लागि प्रयोग गरेका छन् । व्यावसायिक प्रवर्धनका लागि पनि टिकटक फाइदाजनक प्रमाणित भएको छ । टिकटकलाई आयआर्जनको माध्यम बनाउनेहरु पनि लाखौं छन् ।
माथि उल्लेख गरिएका कुराबाहेक सबैभन्दा धेरै रोचक र ध्यान दिन योग्य त के छ भने देशमा भएगरेका अनियमितता, भ्रष्टाचार, घरेलु हिंसा, नेपाल सरकारले गरेका बिगत र वर्तमानमा देशद्रोही वा जनता विरोधी निर्णयहरु, बहुदलले ल्याएको सामाजिक तथा आर्थिक असन्तुलनका बारेमा दृश्यश्रव्य सामग्रीहरु टिकटकले केही घण्टामै लाखौं जनतासम्म पुर्याएको छ । जहाँ टिकटकले सचेतना जगाउने काम गरेको छ त्यहीं यसले युवायुवतीहरुलाई अकर्मण्यतातिर धकेल्ने काम पनि गरेको छ । उनीहरुले अधिकांश समय मनोरञ्जनात्मक विडियो बनाउन खर्चिरहेका छन् । किशोर किशोरीहरुको टिकटकप्रति झन् क्रेज बढी देखिन्छ ।
आजको नूतन युग विज्ञान र प्रविधिको हो । बहुदल भित्रिएपछि नेपालमा भए गरेका उद्योग, कलकारखाना त बन्द भए नै, अब सरकार विश्वमै लोकप्रिय रहेको प्रविधि विरुद्ध पनि निर्णय लिन पछि नपरेको बुझिन्छ । ध्वनि सञ्चारणको गतिमा टिकटक मार्फत सन्देश तथा घटनाहरुको जानकारी विश्वभर फैलिरहेको बेला त्यही प्रविधिलाई नेपाल सरकारले देशभित्रको बेथीति विस्तारको कारण बनेको बताउँदै बन्द नै गरिनुपर्ने निर्णयमा पुग्छ भने के यो अपरिपक्कताको निसानी होइन ? दोष टिकटकको नभएर त्यसको युजरको हो नि जसले अनावश्य रुपमा विडियो बनाएर पोस्ट गर्दछ ।
आज टेक्नोलजी यति विकसित भइसकेको छ कि यसको मद्दतले ठूलाठूला अपराधका घटनाहरु रोकिएका छन् वा सुल्झिएका छन् । सरकारले प्राथमिकताका साथ सम्बोधन गर्नपर्ने मुद्दाहरु धेरै छन् । देश युवाविहीन बन्दै छ । देशको राजनीति हितकर होइन अहितकर कारक तत्वमा परिणत हुँदै छ । सत्ताबाटै नातावाद र कृपावादलाई प्रश्रय दिइएको छ जसका कारणले भयावह जनविरोधी राजनीतिक संरचना अस्तित्वमा आउँदै छ । स्वदेशमैत्री नीतिभन्दा विदेशी विस्तारवाद समर्थक नीतिबाट देश प्रभावित बन्दै गएको छ । निर्यातभन्दा आयात अत्याधिक बढेको छ । यस्ता सबै प्रकारका अराष्ट्रिय विषयवस्तुलाई पनि टिकटक मार्फत टिकटकका युजरले उजागर गरेका छन् । टिकटकलाई बन्द गर्नुको सट्टा यसको दुरउपयोगकर्तालाई कार्वाही गर्ने निर्णय र निर्णय कार्यान्वयनका लागि आवश्यक पर्ने नियमावली, ऐन, कानून ल्याइनुपर्ने हो । टिकटकको दुरउपयोग गर्नेलाई जरिवाना लाउने, उसको टिकटक अकाउण्ट ब्लक गरिदिने जस्ता कार्वाहीेदेखि २४ घण्टामा कुन उमेर समूहका व्यक्तिले कति बजेदेखि कति बजेसम्म टिकटक प्रयोग गर्न पाउने, तोकिएको समयभन्दा धेरै समयसम्म टिकटिकमा भुल्न नपाउने भन्ने सम्बन्धमा जरुरी बहस चलाईनु पर्ने हो । प्रविधिलाई होइन प्रविधिको दुरउपयोग गर्ने प्रवृत्तिलाई बन्द गराउ सरकार । हुन त सरकारले गरेका धेरै निर्णयहरु गलत थिए भन्ने कुराको पुष्टि सर्वाेच्च अदालतले त्यस निर्णयलाई उल्टाएर गरिदिएको छ । टिकटक बन्द गर्ने निर्णय सही हो कि गलत, यसको पनि टुंगो त ढिलो चाँडो लागी नै हाल्छ ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
