- सम्पादकीय
जब प्रारब्धको कुरा आउँछ, भक्तजनलाई ज्ञान दिन सन्त श्री प्रेमानन्द महाराज प्रायः परम पूज्य श्री उड़िया बाबाजी महाराजकै चर्चा गर्नुहुन्छ। किनभने उहाँको जीवन एउटा अद्वितीय तपस्याको प्रतीक हो, जुन प्रारब्धभन्दा परको सिद्ध स्थिति देखाउँछ। भारतका सिद्ध सन्तमध्ये एक, श्री उड़िया बाबाजी महाराजको जीवन सम्पूर्ण समाजका लागि एक आदर्शस्वरूप रह्यो। उहाँका उपदेश, कृपा र तपस्याले हजारौँ भक्तमा भक्ति र ज्ञानको जागरण भयो।
सन् २०२५ को चैत्र कृष्ण चतुर्दशी (७ अप्रिल) का दिन, उहाँको ७६औँ निर्वाण दिवस श्रद्धापूर्वक मनाइयो। आज पनि वृन्दावनधामस्थित उहाँको श्रीकृष्ण आश्रममा उहाँको परम्परा जगदगुरु शंकराचार्य ब्रह्मलीन स्वामी श्री स्वरूपानंद सरस्वती र पूज्य स्वामी श्री अखण्डानन्द सरस्वतीज्यूको आशीर्वादमा निरन्तर चलिरहेको छ।
श्री उड़िया बाबाजीका समकालीन सन्तहरू – स्वामी श्री करपात्री जी महाराज, श्री हरिबाबा, श्रीश्री माताजी आनन्दमयी, स्वामी गंगेश्वरानन्दजी, स्वामी शरणानन्दजस्ता व्यक्तित्वसँग उहाँ वेदान्त सत्सङ्ग गर्नुहुन्थ्यो। उहाँका परम भक्तहरूमा जगदगुरु शंकराचार्य श्री शान्तानन्द सरस्वती, स्वामी प्रबोधनन्द, महर्षि कार्तिकेय, श्री पल्टू बाबा, गोवर्धनका सिद्ध सन्त गया प्रसाद पण्डित, स्वामी सिद्धेश्वराश्रम जस्ता तपस्वीहरू उल्लेखनीय छन्।
बाल्यकालदेखि नै अलौकिक सिद्धिहरूले सम्पन्न बाबाजीले आमा अन्नपूर्णाको कृपाबाट जंगल–जंगलमा भक्तहरूका लागि भोजनको व्यवस्था गर्नुहुन्थ्यो। जहाँ भए पनि भण्डारा नटुट्ने उहाँको विशेषता थियो। रोगमुक्ति, आर्थिक संकटको समाधान, प्राणदानजस्ता चमत्कार उहाँले साधारण रूपमा गर्नुहुन्थ्यो।
भक्तहरू उहाँको अर्चना आफ्ना इष्ट देवझैँ गर्थे। कामाख्यामा तप गर्दै गर्दा आमा जगदम्बा स्वयं प्रकट भएर उहाँसँग एकाकार हुनु, लगातार समाधिमा लीन रहनु, जीवनभर कठोर तपस्यामा रमाउनु—यी सबै तथ्यहरूले सिद्ध गर्छ कि उहाँको जीवन जन्मदैदेखिनै सन्त चरित्रको थियो।
स्वामी अखण्डानन्दजीका अनुसार बाबाजीको जीवन संयम, सादगी र प्रेममयताको अनुपम उदाहरण थियो। जपलाई ज्ञान र ध्यानभन्दा पनि कठिन मानेर उहाँले नामजपको महत्त्व प्रतिपादन गर्नुभयो। उहाँ भन्नुहुन्थ्यो—‘‘मन्त्रभन्दा ठूलो नाम हो। कृष्णको नाम लियौ भने सम्झ तिमी साक्षात् गोलोकमा छौ ।’’
श्री दुर्गासप्तशतीका अर्गला, कीलक र कवच पाठबाट असम्भव कार्य पनि सम्भव हुने उहाँको अनुभूति थियो। ध्यानमा इष्टदेवको स्वरूपमा चित्त स्थिर गर्नुपर्ने र लीलामयी भावमा मनलाई भिजाउनु ध्यानको सार भन्नुहुन्थ्यो।
भक्तहरूका लागि उहाँ इष्टदेवझैँ प्रिय हुनुहुनथ्यो। वृन्दावनको उहाँको आश्रममा उहाँको अर्चाविग्रह स्थापना भएपछि मानिसहरूले उहाँको नेत्र हल्लिएको, हृदय धड्किएको महसुस गरे। भक्तहरूले अनुभूति गरे—बाबा फर्केर आउनुभएको छ। उहाँको समाधिमा आज पनि भक्तहरू अदभूत रोमाञ्च अनुभव गर्छन्।
परम पूज्य श्री उड़िया बाबाजीको छेउमै स्वामी अखण्डानन्दजीको आश्रममा आज पनि वेदान्त, सत्सङ्ग, कथा र सन्तसेवा अविरल चलिरहेको छ, जसबाट भक्तजनलाई दिव्य अनुभूति प्राप्त भइरहेको छ।
बाबाजीले भन्नुभएको थियो— ‘‘खानुको आनन्द जीवात्माको हो, तर खुवाउनेको आनन्द परमात्माको हो।’’ यस्तै अनुभूतिजन्य शिक्षाहरू नै आजको समाजमा आध्यात्मिक पुनर्जागरणको बाटो बन्न सक्छन्। अज्ञान र अविश्वासका कारण केही समयपछि उडिया बाबाको तपस्यारुपी जीवनकथालाई केवल मनघडन्त साहित्यिक रचनाको संज्ञा दिइएला । तर दिव्य जीवन यापन सम्भव छ भन्ने कुरालाई आत्मज्ञानीहरुले मात्र बुझ्ने विषय हो ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
